मुना–ताकम सडकखण्डमा टिप्पर दुर्घटना : दुई जना घाइते

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी, ३१ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुना अन्तर्गत फलिया गाउँबाट ढुङ्गा लोड गरी मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार बिहान करिब ७ बजे सिम्रण कन्ट्रक्सनको ग १ क ३९९८ नम्बरको टिप्पर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा चालक कास्कीका करिब ४० वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । साथै सोही निर्माण कम्पनीमा कार्यरत मकवानपुरको मनहरी नगरपालिका–९ निवासी ३५ वर्षीय असिम प्रजाको टाउकोमा सामान्य चोट लागेको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ मुना–ताकम प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर कार्कीको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइतेहरूको तत्काल उद्धार गरी मुना स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि प्रदेश अस्पताल बेनी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त टिप्पर घटनास्थलमै रहेको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार