बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे ।
उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको काम सुरु गरिएको वडा नम्बर ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए । चार सय मिटर दूरीको पदमार्ग छ महिनाभित्र बनाइसक्ने लक्ष्य लिइएको छ । पदमार्ग निर्माणका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक जुटाएका छन् । सहयोग अभियानबाट हालसम्म रु ६५ लाख सङ्कलन भएको जनाइएको छ ।
जापानमा रहेका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलिरहेको वडाध्यक्ष कँडेलले बताए । “जापान, युरोप, अमेरिकादेखि सबै देशमा रहेका बिहुँकोटे यो अभियानमा जोडिनुभएको छ”, उनले भने, “पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि सुरु हुँदैछ ।”
हालसम्म सङ्कलित रकम पदमार्गमा मात्रै खर्च हुने देखिएकाले बिहुँकोट संरक्षण योजनाका लागि थप सहयोग जुटाउन आर्थिक सङ्कलन समिति क्रियाशील छ । दुवै योजनामा झण्डै रु डेढ करोड बजेट लाग्ने अनुमान छ । पदमार्गका लागि वडा नम्बर ६ लेसमेत रु छ लाख ३४ हजार बजेट छुट्याएको छ ।
पदमार्ग बनाउँदा स्थानीय स्रोत र सीपको प्रयोग गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताए । उनका अनुसार पदमार्गमा ढुङ्गा, माटो नै बढी प्रयोग गरिने छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउनुपर्ने स्थानीयवासी भरत सापकोटाले बताए । “ठाउँ–ठाउँमा विश्रामस्थल, रेलिङ बनाउनुपर्छ”, उनले भने ।
पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ । पदमार्गबाट मनोरम हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिने छ । पुष्पलाल मध्यपहाडी लोकमार्गबाट रामकोट नजिकै रहेकाले मोटरमासमेत सजिलै पुग्न सकिन्छ । रामकोटलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन राज्यका निकायदेखि जनस्तरबाट लगानी र सहयोग जुटिरहेको छ । रामकोटलाई तीर्थस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।
रामकोटमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा शिवरात्रि, अक्षयतृतीया र हरेक वर्ष जेठ ११ गते विशेष पूजाआजासहित मेला लाग्छ । मन्दिरमा भारतको नर्मदा नदीबाट ल्याइएको ५ सय किलो बराबरको शिवलिङ्ग छ । मन्दिर परिसमा उत्खनन गर्दा फेला परेका बसाहा, करुवा, कलसलगायतका ऐतिहासिक वस्तु पनि सङ्ग्रह गरेर राखिएको छ ।
पदमार्ग शिलान्यास समारोहकैबीच आर्थिक सङ्कलन समितिले अनलाइनमार्फत आयोजना गरेको ‘एकल भजन नृत्य प्रतियोगिता’का विजयीलाई पुरस्कृतसमेत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने जैमिनी नगरपालिकाकी सुसन केसीले रु ५० हजार, द्वितीय हुने जैमिनीकै जेनिसा पुनले रु ३० हजार र तृतीय हुने काठेखोलाका राजेन्द्र कँडेलले रु २० हजार प्राप्त गरे ।
यस्तै सान्तवना स्थान प्राप्त गर्ने काठेखोलाकै पुष्पा कँडेल र अनुराधा कँडेललाई रु १०÷१० हजारका दरले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा ५० जना सहभागी थिए । नागरिक खबरबाट साभार