भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।

हाल भारतमा ९३ लाख ९ हजार ७ सय ८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८७ लाख १८ हजार ५ सय १७ व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ५५ हजार ५ सय ५५ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २०औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय ९२ जनाको मृत्यु भएको र यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार ७ सय १५ पुगेको छ ।

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८७ हजार १४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् । त्यसपछि केरलामा ६४ हजार ६ सय १५ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी शहर दिल्लीमा ३८ हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ७० लाख ६२ हजार नमूना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताए ।

उनले भने, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौँ । हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौँ । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौँ ।”प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेको पनि जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार