धवलागिरी क्षेत्रका टेबल टेनिस खेलाडी तथा पूर्वसहायक प्रशिक्षक शाक्यको निधन

बागलुङ । धवलागिरी क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए । बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थिए ।

टेबल टेनिसको सहायक प्रशिक्षक पदबाट शाक्यले गत वर्ष भदौमा अनिवार्य अवकाश पाएका थिए । सुख आफू खेलाडी छँदा तत्कालीन धवलागिरी अञ्चलको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

टेबल टेनिस खेलेर पहिलोपटक धवलागिरीमा सुखले पदक भित्र्याएको सदस्यसचिव शाक्यले बताए । “धेरै राम्रो खेलाडी हुनुहुन्थ्यो, पछि उहाँको प्रशिक्षणबाट उत्पादन भएका खेलाडी पनि राष्ट्रियस्तरमा चिनिए”, शाक्यले भने । उनले सुखलाई अनुशासित र मिलनसार व्यक्तित्वका रूपमा स्मरण गरे ।

खेल प्रशिक्षणका सिलसिलामा सुख केही वर्ष कैलालीमा समेत बसेका थिए । उनले जिल्ला खेलकूद विकास समितिमा लामो समय सेवा गरे । सुखको निधनले जिल्लाको खेलजगत् स्तब्ध बनेको खेलाडी तथा प्रशिक्षक संघ बागलुङका अध्यक्ष राजनकुमार पाइजाले बताए । सुखका एक छोरा र एक छोरी छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार