काठमाडौं । कोरोना भाइरसको माहामारीबाट थलिएका २२ व्यावसायिक संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । माहामारीको समयमा परेको असर न्यूनीकरण गरी व्यावसायिक गतिविधि अघि बढाउन सरकारले प्रभावकारी कार्यक्रम नल्याएको भन्दै पर्यटन क्षेत्रसँग सम्बन्धित १२ तथा अन्य विभिन्न क्षेत्रका १० व्यवसायिक संस्थाले सरकार विरुद्ध संयुक्त आन्दोलन गर्ने भएका हुन् ।
व्यवसायीले ‘महामारी पीडित सर्वपक्षीय पेशा व्यवसायी संघर्ष समिति नेपाल बनाएर संयुक्त आन्दोलन गर्न लागेका हुन् । कोरोना प्रभावित व्यवसायका लागि पुनरुत्थानको कुनै प्याकेज नल्याएको, मौद्रिक नीतिको कार्यान्वयन नभएका, बैंकको ब्याज र किस्ता तिर्न समस्या भएको भन्दै सो समस्या सम्बोधनका लागि सात दिने अल्टिमेटमसहित आन्दोलनमा जान लागेको माहामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय संघर्ष समितिका संयोजक कर्ण बहादुर शाहीले रातोपाटीलाई बताए ।
समितिमो यातायात, पर्यटन, उद्योग, वाणिज्य, विद्यालय लगायत निजी लगानीमा संचालित सेवा र वस्तुको क्षेत्रमा रहेका पेशा तथा व्यवसायी सहभागी छन् । यस्तो क्षेत्रमा आवद्ध कर्मचारीहरु इतिहासकै संगीन अवस्थामा गुज्रिरहेको बेलामा ‘जहाँ दुख्छ घाउ, त्यहिँ तिमी थिच्छौ’ भनेझैं सरकारले राज्य र जनताप्रति उत्तरदायी बन्नुको साटो कोभिड–१९ को आतंक मच्चाएर लकडाउन, निषेधाज्ञा र वन्देजका कारण निजी व्यवसायी तथा लगानीकर्ता माथि सरकार निर्मम भएको समितिको आरोप छ ।
महामारीको बेलामा परेको असर न्यूनीकरणका लागि राज्यबाट कुनै प्रकारको चासो र तत्परता नदेखाएकोले बाध्य भएर आन्दोलित हुनु परेको संयोजक शाहीले बताए ।
‘
पेशा तथा व्यवसायीहरु ऐतिहासिक संकटमा छन्, सरकार भने अनभिज्ञता प्रदर्शन गर्दै कोभिडको महामारी विरुद्ध सफलता प्राप्त गरेको ढोल पिट्दै जुँगामा ताउ लगाएर बसेको छ, हाम्रो लगानी दिन प्रतिदिन असुरक्षित हुँदैछ, डुब्दै छ, कतैबाट यो संकट मोचनको गुञ्जायस देखिँदैन,’ समितिले भन्यो ।
निजी क्षेत्रले देशको आर्थिक समृद्धि र रोजगारको क्षेत्रमा पु¥याएको योगदानको कुनै मूल्याङ्कन नगरी अभिभावकीय निकाय तमासे बन्नुले सरकार निजी लगानीको हितमा उत्तरदायी छैन भन्ने कुरा प्रष्ट भएको समितिको ठहर छ । आफूहरु संरक्षणविहीन हुँदै गएको भन्दै व्यवसायिक संस्थाहरुले यो विपतिपूर्ण परिस्थितिमा पेशा तथा व्यवसायीहरु ‘पर्ख र हेर’को अवस्थामा बसिरहने हो भने अबको समय झन कठिन मात्र हुने नभई आफूहरुको अस्तित्व र जीवन निर्वाहमा नै प्रश्न चिन्ह खडा हुने उनीहरुको भनाइ छ । रातोपाटीबाट साभार