पौष दोस्रो हप्ता गलकोटमा बगाले थापा समाजको कुल पुजा हुँदै

थम्मन थापा
बागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म बागलुङले यस वर्षको कुल पूजा आगामी पौष १५ गते गर्ने भएको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण विगतमा जस्तो भव्य रूपमा यसपाली कुल पुजा नहुने भएको समाजले जनाएको छ ।

समाजका बन्धु मल्म सानोखोला निवासी यम बहादुर थापाको मंसिर २ गते असामयिक निधन भएपछि समाजले पूर्व निर्धारित गरेको पौष ७ गतेको मिति परिवर्तन गरी पौष १५ गते पूर्णिमाको दिन गर्ने निर्णय गरेको हो ।

समाजले यस अघि कुलपूजा तयारीको निमित्त पौष ५ गते बोलाईएको बैठक १२ गतेको लागि तय गरेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस वर्ष पौष १३ गते दिउँसो तोरी पेल्ने र साँझ पख मन्दिरमा दीप प्रज्वलन गर्ने, पौष १४ गते कुल मन्दिर सरसफाइ तथा गवरा बार्ने र पौष १५ गते समितिद्वारा मन्दिरमा पूजा अर्चना गर्ने निर्णय गरिएको छ ।

समितिले कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कुल मन्दिरमा बन्धुहरुले धूप, धया र भेटी लिएर आउन अनुरोध गरेको सातसय बगाले थापा समाजका केन्द्रीय प्रतिनिधि छुम बहादुर थापाले जानकारी दिनुभयो । यस वर्ष सामान्य तवरबाट कुल पूजा गरिने समितिले जनाएको छ ।

गलकोट मल्ममा देशका विभिन्न ठाउँहरु ताराखोला, बडिगाड, ढोरपाटन, बागलुङ, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, भारतको देहरादुन, दिल्ली सँगै विदेशसम्म फैलिएका बगाले थापाहरु कुलपूजा गर्न आउने गर्दछन । कुल पूजाले बन्धुहरू बिच एकता, आपसी भाइचारा समेत बढाउने विश्वास लिईन्छ । विगतमा कुल पूजाको दिन बिहान निशान घरदेखि नौमती बाजा र पञ्चकन्याको साथमा कुल मन्दिरसम्म कलश यात्रा, झण्डोत्तोलन, बलि, पूजा अर्चना, प्रसादी वितरण र सामुहिक भोजको भव्य कार्यक्रम हुने गर्दथ्यो ।

यस पटक कोरोना भाइरस संक्रमणको कारण जटिल परिस्थिति सृजना भएको हुँदा सामान्य रूपमा गरिने धौलागिरी बगाले थापा समाजका उपाध्यक्ष राज बहादुर थापाले बताउनु भयो । बगाले थापाको ईतिहास हेर्दा वि.सं. १२४६ देखि वि.सं. १५४५ सम्म म्याग्दीको ताकम, ज्यामरुकोट र पुलासम्म थापा राज्य सञ्चालन भएको देखिन्छ । वि. सं. १५४५ मा मल्ल राजा दिम्ब बम मल्लले आक्रमण गरेपछि ताकमबाट बगाले थापाहरु गलकोट, स्याङ्जा, गोरखा, काठमाण्डौ लगाएतका ठाउँहरुमा गएको समाजका संरक्षक एवं प्रध्यापक डा. दिनबहादुर थापाले जानकारी दिनुभयो । समाजले प्रत्येक कुल पूजामा बगाले थापाको ईतिहास, विभिन्न लेख, रचना, सामाग्री सहितको स्वाभिमान बुलेटिन पुस्तक समेत प्रकाशित गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार