कुनै पनि गुटमा नलाग्ने दीनानाथ शर्माको घोषणा

काठमाडौं । राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा सहभागी नहुने घोषणा गरेका छन् ।

विगतमा प्रचण्ड–नेपाल पक्षको भेलामा उभिएका उनले अब पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलागेको बताएका हुन् ।

१७ पुसबाट बस्न लागेको राष्ट्रियसभाको बैठकमा पनि आफु तटस्थ भएर काम गर्ने बताए । उनले आफू स्वतन्त्र भूमिकामा रहने र राष्ट्रियसभामा दलको नेताको हैसियतले पार्टी मिलाउन लाग्ने बताए ।

‘म स्वतन्त्र भूमिकामा रहने भएको छु । पार्टी मिलाउन वामदेव गौतमसँग पनि छलफल गर्दैछु । हामी दुवैजनना एउटै कित्तामा भयौं अहिले । उसैपनि राष्ट्रियसभाले सरकार बनाउने र ढाल्ने होइन,त्यहाँ पक्ष विपक्षमा उभिनु पनि हुँदैन । मलाई कुनै पनि गुटमा सामेल नगर्नुस्’, उनको भनाइ छ ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित तीन जना समेत जोडेर नेकपाका ५० सांसद छन् । ५० जनामध्ये वामदेव गौतम दुवैतिर नलाग्ने भनेर बसेका छन् । प्रचण्ड–नेपाल पक्षले आफुहरुसँग २४ सांसद रहेको दावी गर्दै आएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार