विश्वकै लामो झोलुङ्गे पुलको उद्घाटन

बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको शनिबार उद्घाटन गरिएको छ । बागलुङ नगरपालिका—१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका—१ पाङ अदुवाबारी जोड्ने नेपालकै एक मात्र ५६७ मिटर लामो झोलुङ्गे पुलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका हुन् ।

पुल निर्माणको अवधी आगामी फागुनसम्म भएपछि पनि निर्माण कम्पनीले समय अगावै पुल निर्माण सम्पन्न गरेपछि अहिले उद्घाटन गरिएको हो । उद्घाटनका कार्यक्रममा सम्बोधन गर्दै तिमिल्सीनाले देशका अधिकाँस ठूला आयोजनाहरु ठेकेदारका लाहपरबाहीका कारण अलपत्र परेको अवस्थामा यो पुल निर्माण अवधि अगावै सम्पन्न भएको खुसी व्यक्त गरे ।

‘मध्येपहाडी लोकमार्ग कालिगण्डकी करिडोर सुरु भएका कैयौं वर्ष भए, ती अझै अलपत्र छन्,’ उनले भने,‘निर्धारण गरिएको भन्दा १० महिना अगावै निर्माण सम्पन्न गरेर आज यो पुल हस्तान्तरण भएको छ । यो खुसीको कुरा हो ।’

प्रतिवद्धता गरेका समय भन्दा अगावै पुल निर्माण पूरा गरेको भन्दै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई नगद ५० हजारले सम्मान समेत गरे । ‘हुन त ठेकेदारलाई किन पैसा दिने गरिबलाई दिएको भए हुन्थ्यो भन्ने कुरा पनि होला, तर यो सबै ठेकेदारको हौसलाको लागि हो । सबै ठेकेदारले समयमा काम पूरा गरुन् भन्नका लागि हो,’ उनले भने ।

व्जयगिलनभ उग ि ९द्द०।वउन

यो पुल विश्वकै लामो भएकाले त्यही अनुसार प्रचार प्रसार गरी पर्यटक भित्र्याउन पहल गर्नुपर्ने उनको भनाई छ ।

‘हामीले अझै पनि विश्वकै लामो भनेर दाबी गरिएको भनेर भन्छौं, दाबी गरिएको होईन यो विश्वकै लामो पुल नै हो,’ उनी भन्छन्,‘अहिलेसम्म देखिएको स्वीट्जरल्याण्डमा ४९४ मिटरको मात्रै छ । त्यसैले त्यही अनुसार यसको प्रचार गर्नुपर्छ, विश्व रेकर्डमा राख्नका लागि प्रक्रिया पु(याउन केही समय लाग्ला तर यो विश्वकै लामो झोलुङ्गे पुल हो ।’ तिमिल्सीनले बाँगैचौर—अदुवाबारीको पुलको अवस्था हेरेर यसै आर्थिक वर्षभित्र बागलुङ नगरपालिका—४ ओढारचौरबाट पर्वतको जलजला गाउँपालिकाको नाग्लीबाङ जोड्नेगरी लामो झोलुङ्गे पुलको निमार्ण सुरु गरेको घोषणा गरे ।

‘यो पुल हामीले जबरजस्ती गरेर सुरुवात गरेका थियौैं,’ तिमिल्सीनाले भने,‘मानिसहरु हिँड्न थालेपछि यो प्राविधिक रुपमा कत्तिको बलियो ठहर्छ । त्यसको आधारमा अर्को पुलमा लगानी गर्ने कुरा छ, यसै आर्थिक वर्षभित्र त्यो पुलको पनि टेन्डर प्रकाशस गरिसक्छौं ।’

राजनीतिक विषयमा अत्यन्तै कम बोलेका उनले संसद विघटनको विषयमा अदालतको फैसला पर्खन आग्रह गरे । ‘संसद विघटनको विषयलाई मैले ठिक या वेठिक भनेको छैन, मेरो पदीय मर्यादाले पनि त्यो कुरा भन्न दिँदैन, तर अदालत निर्णय सबैले मान्नुपर्छ, त्यतिन्जले पर्खौं,’ उनी भन्छन्,‘अदालतले चुनाव जाऔं भनेर चुनावमा जाउँला, संसद पुनस्थापना गरे संसद नै रहन्छ ।’दुई तिहाई नजिक मत पाएका नेपालका कम्युनिष्ट पार्टीका केही नेताहरुका कारण ऐतिहासिक अबसर गुमेको उनको टिप्पणी छ ।

‘जनताले निकै ठूलो भरोसा गरेर कम्युनिष्ट पार्टीलाई जनमत दिएका थिए, सचिवालय भित्रका तीन चार जनाको पदको स्वार्थले गर्दा त्यो अवसर गुमेको छ । यो राम्रो भएन,’ उनले भने । गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री विकास लम्सालले बागलुङमा थुप्रै पर्यटकी ठाउँहरुमा विश्वकै लामो झोलुङ्गे पुल पनि थपिएकाले अब पर्यटनबाट यस क्षेत्रको समृद्धि सम्भव भएको बताए । करिड दुई दशक अगाडीबाट निर्माणको प्रयास थालिएको उक्त पुलले अहिले साकार रुप लिएको हो ।५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको छ भने करिब साढे २५ मिटर झोलुङ्गो छ । यो सिंगल स्पानमा बनेको नेपालकै लामो हो ।

विश्वकै लामो दाबी गर्दै गिनिज बुक वल्र्ड रेकर्डमा लेखाउनका लागि बागलुङ नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरेर प्रक्रिया समेत अगाडी बढाएको छ । यो पुलको लाईफलाइन ५० वर्षको हुनेछ । पुल निर्माणका लागि आवश्यक लठा र बुलडोजर विभागले उपलब्ध गराएको थियो । लठा बाहेक १० करोड ५६ लाख स्टीमेट भएकोमा निर्माण कम्पनी थानीरविएलटिरहिमशिखर जेभीले सात करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी पुल निर्माण गरेको हो ।

बागलुङ बजारबाट पाङ पुग्न पैदल मार्ग मार्फत डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा छोटिएको छ । कालीगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोर माथि पुल बनेकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । पुललाई पर्यटक आकर्षणको केन्द्र बनाउन लाईट जडान गरिएको छ । रातीमा झिलीमिली बल्ने बत्तिले पाहुना लोभ्याउने बागलुङ नगरप्रमुख जनकराज पौडेलको विश्वास छ ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव नारायण अर्याल, पूर्वाधार विकास विभागका महानिर्देशक इश्वरचन्द्र मरहठ्ठा, लुम्बीनी गार्डेन फाउण्डेशनका निरज गोविन्द श्रेष्ठ, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, निवर्ततमान संघीय सांसद डा। सूर्य पाठक र नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति दीपेन्द्र बहादुर थापा लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षता कुस्मा नगरपालिका–१ वडाअध्यक्ष देवेन्द्र सुवेदीको स्वागत तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।baglungpost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार