छिस्तीमा हवाई चप्पल उत्पादन सुरु

बलेवा । बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न सुरु गरेका छन् । रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न सुरु गरेका हुन् ।

केही समयअघि पोखराका केही सञ्चारमाध्यममा समेत काम गरेका विश्वकर्माले अहिले भने गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले छिस्ती धुसमा चप्पल उद्योग सञ्चालनमा ल्याएको बताए । मानिसका लागि अति आवश्यक पर्ने चप्पल बाहिरी देश अथवा गाउँभन्दा बाहिरबाट ल्याउँदा धेरै महँगो पर्ने भएकाले आफूले गाउँमै उद्योग सञ्चालन गरेको उनको भनाइ रहेको छ ।

पाँच लाख लगानी गरेर सञ्चालन गरिएको उद्योगमा दैनिक १ सयदेखि १ सय ५० जोडीसम्म चप्पल उत्पादन हुँदै आएको उनले जानकारी दिए । उत्पादित चप्पल बागलुङ बजारसँगै छिमेकी जिल्ला गुल्मी, पर्वतमा पनि बिक्री भइरहेको विश्वकर्माले बताए ।

स्वदेशमै राम्रो आम्दानी गर्न सकेमा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गर्दै उनले अर्काको देशमा रातदिन पसिना बगाए पनि आत्मसम्मान नहुने भएकाले स्वदेशमा व्यवसाय सुरु गरेको बताए । अहिले उद्योगमा बाबुछोराले काम गरिरहेको र अब केही समयपछि लगानी बढाएर गाउँमै रहेका युवाहरु पनि रोजगार दिने सोचमा रहेको बताए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार