
काठमाडौं । सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएको परिषदका एक सदस्यले जानकारी दिए । उनले नाम उल्लेख नगर्ने शर्तमा विभिन्न आयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाएको बताए ।
उनका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएका थिएनन् । उनीहरु सहभागी नभएपछि ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए ।
अहिले फेरि सरकारले अध्यादेशमार्फत नियुक्ति गर्न लागेको हो । नयाँ अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ । केही दिनअघि मात्रै राष्ट्रपतिले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । यस पटक पनि दलहरुबीच कलह जारी रहेकै वेलामा बोलाएको परिषद बैठकमा सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता सहभागी हुने सम्भावना कम रहेको स्रोतको दावी छ । रातोपाटीबाट