
ताप्लेजुङ । मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमतिपत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताउनुभयो ।
यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । “पिके शेर्पा र उनका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ”, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भन्नुभयो । उहाँका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।
यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुनसक्ने आचार्यको भनाइ छ । अहिले नै यसै हो भनेर भन्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । “१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ”, आचार्यले भन्नुभयो । विसं २०६१ फागुन १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । रासस