
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको टिप्पणी गरे ।
उनले अहिले पनि त्यो कोभिडको संक्रमण जारी रहेको बताए । ‘नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । केन्द्रबिन्दु धुम्बाराही काठमाडौं,’ उनले भने, ‘कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन ।’
उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए । संघीयता शिशु अवस्थामा छ रहेको र यसलाई हुर्काउने, बढाउने तथा दरिलो गतिमा उभ्याएर रेलको गतिमा दौडाउने जिम्मेवारी आफूहरुको काँधमा रहेको पनि उनले जिकिर गरे । उनले आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको प्रस्ट पारे । रातोपाटीबाट