पोखरा । जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा चुमनुब्री गाउँपालिका ३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन् । मृतकको शव प्राप्त हुन नसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । बाँकी ४ जनाको भने सोमबार काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।
लेकमा पानी परेपछि खतरामा परेकाहरुलाई गोरखाको लाप्राक गाउँमा ल्याइएको उहाँले जानकारी दिनुभयो । गोरखाको बारपाक सुलीचौर गाउँपालिका र लमजुङको सीमानामा पर्ने बौद्ध हिमाल क्षेत्र जडिबुटीको लागि पनि प्रख्यात छ । गाउँलेहरु हरेक वर्ष यही सिजनमा त्यहाँ जडिबुटी टिप्न जाने गर्छन् । dhorpatannewsबाट