प्रदेश नम्बर २ : मधेस भवनमा काँग्रेस भित्रिँदा मधेस आन्दोलनका सहिदको उपेक्षा !

जनकपुर । प्रदेश २ सरकारको मुख्य प्रशासनिक थलो मानिएको ‘मधेस भवन’ मा नेपाली काँग्रेस भित्रिएसँगै मधेस आन्दोलनका सहिदको उपेक्षा गरिएको गुनासो बढ्न थालेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली काँग्रेसलाई तीन मन्त्रालयसहित सत्ता साझेदार बनाएपछि काँग्रेसले सम्हालेका मन्त्रालयमा मधेस आन्दोलनका सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीहरूले आफ्नै पार्टीसम्बद्ध नेताहरूको तस्बिर राख्नुभएको छ ।

काँग्रेसको तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आफ्नो कार्यकक्षमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीको फोटोसमेत नराखेर काँग्रेसकै नेताहरूको फोटो राख्नुभएको छ । मन्त्री यादवले आफ्नो कार्यकक्षमा बस्ने कुर्सीमाथि विपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्रसहितका तस्बिर राख्नुभएको छ । जबकि यसअघि सो स्थानमा मधेस आन्दोलनका सहिदको तस्बिर थियो ।

मन्त्री यादवका स्वकीय सचिव धीरेन्द्र मोहन झाले मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पहिलादेखि नै नरहेको बताउनुभयो । उहाँले पहिलेदेखि नै रहेका मधेस आन्दोलन तथा जनआन्दोलनका सहिदहरूको तस्बिर नहटाएको दाबीसमेत गरे । उहाँले भन्नुभयो, ‘सहिदका तस्बिरलाई अर्कोतिर सारिएको छ, हटाएका होइनौँ । बरु ४ वटा तस्बिर थप गरेका छौँ ।’

उहाँले मन्त्रालयलाई व्यवस्थित र चिटिक्क बनाउनका लागि मुलुकमा परिवर्तन तथा आन्दोलनकारी नेताहरूको तस्बिर भित्तामा सजाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरूको योगदान मधेसको विकासमा रहेकाले सम्मानस्वरुप तस्बिर राखिएको हो, सहिदको तस्बिरलाई अर्कोतर्फ राखिएको छ भने मन्त्रीजीको कुर्सीभन्दा माथि बिपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र र सहिद दुर्गानन्द झाको फोटो राखिएको छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पहिलादेखि नै मन्त्रालयमा नरहेको बताउँदै उनले आफूहरूले दुवैको तस्बिर राख्ने तयारी गरेको जानकारी दिनुभयो।यस अघिका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने मधेस आन्दोलन तथा जनआन्दोलनका सहिदहरूको तस्बिर राखेका थिए । प्रायः मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने परम्परा छ । अन्य देशहरूमा समेत मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ ।

डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि काँग्रेसका भ्रातृसंगठन नेपाल विद्यार्थी संघले पनि विभिन्न सरकारी कार्यालयमा राष्ट्रपतिको तस्बिर राख्नुपर्ने अभियान नै सञ्चालन गरेको थियो । तर अहिले काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयमा काँग्रेससम्बद्ध नेताहरूका तस्बिर राखे पनि राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको तस्बिरलाई भने बेवास्ता गरेको छ ।

मन्त्री यादवले मधेस तथा जनआन्दोलनका सहिदको तस्बिर हटाएकोमा मधेस आन्दोलनकारी सरोज मिश्रले आलोचना गरेका छन् । उनले मधेस तथा जनआन्दोलनमा भएका सहिदहरूले गर्दा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीले सहिदकै अपमान गरेको बताउनुभयो ।

सत्तारुढ जसपाभित्र कलह बढ्दै जाँदा मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीनजना राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । लगत्तै उनले काँग्रेसलाई ३ वटा मन्त्रालय दिइ सरकारमा सहभागी गराएका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार