
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन् । घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार दिउँसो करिब १.४५ बजे राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपालीले राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । पार्किङ नियम उल्लंघन भएको भन्दै काठमाडौं महानगरपालिकाको टोलीले मोटरसाइकलमा व्हील लक लगाइदिएको थियो । त्यसपछि आक्रोशित बनेका उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीले आगो निभाएर घाइते नेपालीको उद्धार गर्दै वीर अस्पताल पुर्याएको थियो। उनको उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । साभारः कान्तिपुर






































