अतीत मुस्कुराउँछ

सुजन बैरागी

फेरी जाकारान्डाका फूलहरू झर्ने मौसम आएछ । आज फेरी झरेका ती फूलहरूले र झरेका फूललाई आफूमा सजाएर राख्ने त्यो सेतो बेन्चले मलाई त्यो दिनको झझल्को गरायो । ती पलको झझल्को गरायो । उनको झझल्को गरायो । मेरा स्मृतिहरू ताजा भएर त्यही दिनमा पुग्यो । पुराना दिनहरू यौवनका समयहरू ।त्यही फूल हो जसले हामीलाई भरपुर साथ दियो । अन्तसम्म । त्यसैलाई हामीले पहेलो गुलावको रुपमा प्रयोग ग¥यौ । त्यसैलाई हामीले विस्तारै रातो गुलावको रुपमा प्रयोग ग¥यौ । अन्तत त्यसैलाई कालो गुलावको रुपमा प्रयोग गर्नु प¥यो । आज पनि ती दिनका कुरा सम्झँदा लाग्छ ती घटनाहरू ताजै छन् ।

उतिबेला म जम्माजम्मी २० बर्षकी थिएँ । मेरो कलेज दिउसोको थियो । स्वस्थ्य र तन्दुरुस्तको लागि मैले एरोबिक्स डान्स जोइन गरेँ । कुरा फागुन महिनाको थियो । जाडो राम्रोसँग सकिएको थिएन । जाडो महिनामा एउटा मात्र क्लास । फागुनबाट दुईओटा क्लास हुने भयो । जसको पहिलो विद्यार्थी हामी थियौ । म लगाएतका अन्य साथीहरू । सुरुमा जम्मा नौ जनाको कक्षा हुने भयो । सबैजना जम्मा भइसकेपछि उसले भन्यो म एविन । म तपाईंहरूको इन्स्टक्टर भने होइन । सर पहिलो क्लास लिएर वासरुमतिर जानुभएको छ ।

एकछिनमा आउनु हुन्छ । म तपाईंहरूलाई क्लबको नियम भन्न मात्र आएको ध्यान दिएर सुनिदिनु होला र पालना गर्नुहोला । उसले सबै नियम पालनाहरू सुनायो ।एक जना ढोका खोलेर भित्र छिरेको ऐनामा देखियो । कलिलो अनुहार ठिक्कको उचाई छरितो शरीर, भरखर धोएको मुख र भिजेको कपाल यस्तो लाग्थ्यो भरखर १२ मा पढ्दै गरेको केटो होस् ।
एविनले देखाउँदै भन्यो – ल सर आउनु भयो ।

मलाई अचम्म लाग्यो, यो भाइ ?
म मात्र हैन सबै जना अचम्ममा पर्नुभयो । अगाडि आएर पहिलो पल्ट उसले बोल्यो शुभबिहानी । वाउ क्या मिठो बोली ।
म विलय, तपाईहरूको एरोविक्स इन्स्टक्टर । नेपाली साहित्यमा एम.ए. गरेको छु । दिउँसो प्रेसमा ग्राफिक्स डिजाइन गर्छु । एउटा राष्ट्रिय मासिक पत्रिका सम्पादन गर्छु । बिहान तपाईहरूलाई कक्षा लिन्छु । एरोविक्स सिकाउन थालेको ४ वर्ष भयो ।

मलाई कौतुहलता जाग्यो र बोलिहालेँ – सर हजुर जम्मा कति वर्षको ?
एकजना आण्टीले भन्नु भयोः सोह्र सत्रको जस्तो लाग्छ ।
एक जना दाइ बोल्नु भयो लाग्न त सोह्र सत्र कै लाग्नुहुन्छ तर एम.ए. गरिसक्नु भएको भन्नुहुन्छ । भनेपछि तेईस चौबिस पुग्नु भयो होला ।
म २८ वर्ष भएँ ।

हामी सबै चकित भयौ । अनुहार हेरेर भन्नै नसकिने ।आज मेरो परिचय भयो अब एरोविक्सको परिचय हुन्छ अन्तमा २० मिनेट जति एक्सरसाइज गर्ने र भोलिदेखि पूर्ण क्लास गर्ने सबै जना टाइममा आइदिनुहोला ।यसै गरी एक्सरसाइज क्लास चल्दै रह्यो हप्ताको ६ दिन क्लास हुन्थ्यो । प्रत्येक दिन फरक फरक एक्सरसाइज हामी सबै प्रभावित थियौ । खुसी थियौ ।

ती प्रत्येक क्रियाकलापबाट स्वयं सरबाट पनि । अरूलाई के के भयो थाहा छैन । मलाई शनिबार नआइदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो । क्लास नभएको दिन वा नगएको दिन उराठ उराठ लाग्न थाल्यो । नरमाइलो लाग्न थाल्यो । शरीर भारी लाग्न थाल्यो । मलाई लाग्यो यो सब नियमित एक्सरसाइज गर्ने मान्छे नगरेको दिन यस्तो भयो होला । तर पछि थाहा पाएँ त्यस्तो होइन रहेछ । म सरको प्रेममा परेकी रहेछु । म उहाँ प्रति आकर्शित हुँदै गइरहेकी रहेछु ।

दिनहरु बित्दै गए । महिना बिते । साल बिते । हाम्रो कक्षा नियमित चलिरह्यो । विद्यार्थीहरू धेरै परिवर्तन भए । कोही आउन छाडे विभिन्न कारणले, कोही नयाँ आए तर एउटा विद्यार्थी कहिले परिवर्तन भएन । त्यो हो ‘म’ । नियमित विद्यार्थी भएको नाताले पनि मेरो राम्रै चिनजान थियो क्लबमा । सरसँग साथीको व्यवहार हुन थालेको थियो ।

यस्तो साथी जोसँग हरेक कुराहरू सेयर हुन थाले । जाडोमा कुनै दिन कोही नआएर म मात्रै हुने दिन पनि आए । त्यस्तो दिन म सरलाई डान्स सिकाउन भन्थेँ । क्लासपछि हामी यही पार्कमा आई यही बेन्चमा बसेर भलाकुसारी गथ्र्यौ । कुनै दिन क्लास टाइम भन्दा पहिला आउँदा अनि सरको दिउँसोको अफिस विदाको दिन केही समय हामीसँगै बिताउँथ्यौं । सर मेरा लागि क्लाबमा मात्र सर त्यसभन्दा बाहिर निस्किएँपछि मिल्ने साथी भैसकेको थियो ।

सम्बोधनमा सरबाट बिलय भै सकेको थियो । घरायासी, अफिसियल विभिन्न कामहरूमा हाम्रो साथ एक आपसमा आदान प्रदान हुन थाले । विदाको दिन कुनै विशेष काम परेन भने घुम्न जाने गथ्र्यौ । हरेक खुसी, हरेक पीडा सधै हमीसँगै थियौँ । मेरो परिवारमा पनि उसले राम्रै स्थान बनाइसकेको थियो ।मलाई सबै थाहा थियो उसको बारेमा । उसको परिवारको बारेमा । अनि उसको परिवारको इच्छा सबै सबै । जसरी उसलाई थाहा थियो मेरो परिवारको बारेमा सबै कुरा । म ऊ प्रति आशक्त भईसकेकी थिएँ । यो कुरा उसलाई पनि थाहा थियो । सायद उ पनि म प्रति त्यस्तै फिल गथ्र्यो । यही बेन्च, यही झरेका जाकारान्डाका फूल जहाँ हामी प्रायः बस्ने गथ्र्यौ । त्यो दिन मैले उसलाई यही झरेको फूल दिँदै भनेकी थिएँ म तिम्रो प्रेमिका हुन चाहन्छु ।

उसलाई मैले प्रेमीको स्थानमा राखेकी थिएँ । मैले घरमा पनि भनेकी थिँए – हामी आपसमा प्रेम गर्छौ । उसको व्यवहारमा केही परिवर्तनहरू देखिन थाले । उसले सधैँ भनेको याद छ अझै मलाई ः भोलिको बारेमा योजना नबनाउ भोली जे पनि हुन सक्छ । जे छ आज छ । आजमा बाँच, रमाउँ ।शुरु शुरुमा हाम्रो भेटघाट, घुमघाम त्यस्तै थिए । जस्तो पहिला थियो । मैले उसलाई प्रेमी मानिसकेकी थिएँ मलाई लाग्थ्यो उसले नी मलाई आफ्नो प्रेमिका स्वीकारी सकेको छ मनैदेखि । मेरो प्रत्येक घाउमा दुख्थ्यो उ र मेरो प्रत्येक प्राप्तीमा खुशी हुन्थ्यो ।

विदाको दिनको कुरा जब हाम्रो भेट हुन्न थियो त्यस दिनको भोलिपल्ट भेट हुँदा जहिले के छ ? हिजो के ग¥यो ? दिन कस्तो रह्यो ? कहाँ गयौ ? कोसँग गयौ ? आदि सम्पूर्ण नालीबेली खोजीनीति गर्ने मान्छे एकाएक विदा कस्तो रह्यो ? भन्ने प्रश्नदेखि केही गरेन मैले सामान्य लिएँ । हाम्रा दिनहरू वर्षहरू यसरी नै बित्दै गए, मुभी, ट्राभलिङ, गेटटुगेदर सबै ठाउँहरूमा उसले मलाई मिठो साथ दिइरह्यो । एकदिन यही बेन्चमा त्यसबेला यहाँ फूल थिएनन् । यस बेन्चमा केबल पातहरू थिए । यँही बसेर मैले प्रश्न गरेथेँ उसलाई – विलय, तिमी किन आजभोलि मेरो पहिलाजस्तो खोजी गर्दैनौ ? पहिला नभेटेको दिनको बारेमा सबै कुराहरू सोध्थ्यौ । आजकल कस्तो रह्यो ? भन्दा अरू केही सोध्दैनौ तिमीलाई मेरो वास्ता छैन ?

उसले आफ्नो हातमा भएको मोबाइल गोजीमा राख्यो अनि मेरो दुबै हात आफ्नो हातमा लियो र बोल्यो ः हो, हिज तिमी मेरो साथी थियौ । मलाई तिम्रो चिन्ता हुन्थ्यो । सबै कुरा जान्ने खोज्ने गर्थे । आज तिमी मेरो प्रेमिका भएकी छौ मलाई तिम्रो ती सबै कुरा जान्ने खोज्ने चाहना हुन्छ तर पनि म खोज्दिन किनकी केही भएको राम्रो नराम्रो तिमी भनिहाल्छौ । धेरै प्रश्न गर्ने आवश्यकता नै पर्दैन, मलाई तिम्रो विश्वास छ तिमी नराम्रो काम गर्दैनौ । तिमी आफै जान्ने बुझ्ने मान्छे छौ, मैले केही भनी राख्नु नि पर्दैन, फेरी म चाहन्न कि तिमी कुनै बन्धनमा भएको आभासमा जिउनु परोस । केटीहरूले यसरी साथीहरूले सबै कुराको बारेमा सोधी खोजी ग¥यो भने केयरिङ ठान्छन् तर आफ्ना अभिभावक, प्रेमी वा श्रीमान्ले सोधी खोजी ग¥यो भने शंका ग¥यो भन्ने ठान्छन्, त्यसैले तिमीमा त्यस्तो भान नहोस भन्ने मेरो चाहना हो ।

समय निरन्तर चलिरह्यो मेरो बी.कम.को नतिजा आयो राम्रो भयो कलेजबाटै धेरै साथीहरूले मिलेर अस्ट्रेलिया स्टडीको लागि अप्लाई गरेका थियौं एप्रुभ भयो । केही साथीहरूको डकुमेन्ट मिलेन हामी चार जनाको समूह जाने भयौ । यि सब कुरा यति छिटो छिटो भए कि समय एकदमै कम भयो । सपिङ्ग, भेटघाट सबै हतारमा गरियो । बिलयले राम्रै साथ दियो । सबैसँगको भेटघाटमा पु¥याइ दियो । त्यो दिन जुनदिन मैले नेपाल छाड्नु अघिको अन्तिम दिन थियो ।

मैले विलयलाई हाम्रै घरमा बस्न आग्रह गरेँ । मैले नियाली रहेकी थिएँ यसको मलिन अनुहारलाई । मैले पढिरहेकी थिएँ यसका रसिला आँखाहरूलाई । उसले बस्न मानेन । मामूले पनि बस्न कर गर्नु भयो । सबैले बस्न भनेपछि उ बस्यो । हामी राती १ बजेसम्म सुतेनौँ । सबै जनाको आँखा रसिला थिए । मैले विलयलाई हेँरे देखिन लाग्यो सुत्न गयो होला बिहान क्लास जानु छ उसले । भोलिदेखि उसको एउटा नियमित विद्यार्थी सधैको लागि गयल हुनेछे । सबै जना सुत्न आफ्नो आफ्नो कोठातिर लाग्नु भयो । बहिनी र म पनि माथि चढ्यौ । बिलय छतबाट सडकमा हेरिरहेको रहेछ । हामी उ भएको ठाउँमा गयौ । मैले विलयलाई पछाडिबाट च्याप्प अंगालो हालँे उसले केही भनेन । उसले अब यो अंगालो फेरी धेरै वर्ष पाउने छैन ।

विलय आज यो अंगालोबाट टाढा हुन नखोज अब तीन चार वर्ष यो अंगालो भेटिने छैन । उसले मतिर फर्कदै भन्यो ः के था तीन चार वर्ष वा जिन्दगी भर ? मलाई रिस उठ्यो । त्यो रात म धेरै रोएँ । शहर मस्त निन्द्रामा थियो म रोइरहेकी थिएँ । विलय मलाई अंगालोमा कसेर उभिरहेको थियो । बहिनी छतको रेलिङमा अडेस लाएर रोइरहेकी थिई । त्यो रात त्यसै बित्यो भोलिपल्ट म विदेसिएँ यो ह्वाइट बेन्च, यो जाकारान्डा, यो शहर, यो देश, मेरो परिवार, मेरो विलय भन्दा टाढा । यति टाढा कि फेरी हाम्रो कहिल्यै भेट हुन सकेन, मिलन हुन सकेन । फेरी यो बेन्चमा यो जाकारान्डाको रुखमुनी कहिल्यै सँगै बस्ने मौका मिलेन ।

म विदेशमा पढाईमा व्यस्त रहेँ । समय बित्दै गयो । हाम्रो कुराकानी हुँदै थिए । मैले पढ्दै काम गर्दै थिएँ । मैले पी.आर. पाएँ । म काम गर्दै रहेँ । मैले एक दिन विलयलाई भने विलय, म विदा लिएर आउँछु हामी विवाह गरौं अनि यतै आएर बसौं । मैले पी.आर. पाएको कुरा तिमीलाई थाहा नै छ । मेरो काम अनि कमाई पनि राम्रो छ । अब हामी अष्ट्रेलिया मै सेटेल हुने ।
विलय थोरै मुस्कुरायो र फेरी भावुक देखियो ।

मलाई तिम्रो विवाहको प्रस्तावले यति खुशी पा¥यो कि म भन्न सक्दिन तर तिम्रो देश छाडेर विदेशमा सेटेल हुने कुराले मलाई तिम्रो विवाहको प्रस्तावले भन्दा कैयौ गुणा बढी पीडा दियो । त्यो तिमी सोच्न नी सक्दिनौ । मलाई सबै कुरा भन तर पैसा र सुख सुबिधाको लागि आफ्नो देश छाड्ने कुरा नगर । सक्छौ भने मसँग मेरै भाडाको कोठामा बस । सक्दैनौ भने तिम्रो इच्छा गर । मैले तिमीलाई कहिले कुनै कुरामा रोक लगाएको छैन, हस्तक्षेप गरेको छैन ।

त्यसदिन पछि विलयले कहिले फोन गरेन । कहिले म्यासेज पनि गरेन । मैले जेजति गरेँ गरेँ । जे सोधें त्यसको उत्तर आयो, त्यसभन्दा बढी अरू केही सोध्धा पनि सोधेन, भन्दा पनि भनेन । विस्तारै विस्तारै हामी बीचको सम्पर्क पातलिदै गयो । एक दिन धेरै दिन पछि मैले उसलाई भिडियो कल गरें । उ यही ह्वाइट बेन्चमा बसिरहेको रहेछ । मैले देखेँ यो जाकारान्डाको रुखमा कुनै फूल थिएनन् । कुनै पात थिएनन् । उजाड थियो रुख । सोँचे उसले उसको नियमित विद्यार्थीको पर्खाइ गरिरहेको छ र त्यो पर्खाइले उसलाई पनि त्यही रुख जस्तै बनाएको छ ।

त्यसदिन मैले भनेकी थिएँ विलय, मैले विवाह गरेँ ।
उ फेरी उसैगरी थोरै मुस्कुरायो । केही भनेन, आश्चर्य पनि मानेन । विश्मय पनि मानेन । मैले मेरो तर्फबाट भन्नु पर्ने सबै कुरा भने । उसले शान्त भएर सुनिरह्यो । मैले सकेसम्म आफूलाई निर्दोष पार्ने कोशिस गरे मलाई थाहा थियो उसले स्पष्टीकरण मागेको होइन र माग्ने पनि छैन ।

अन्ततः
समय चलिरह्यो, पैसा कमाइयो । अभाव केही छैन् । अहिले जब बुढेसकालले छोयो शरीरमा रोगले चाप्न थाले बिरामी हुँदा सँगै बसिदिन, हस्पिटल लगिदिन जब श्रीमान् छोरा छोरीसँग फुर्सद हुँदैन तब लाग्छ मैले देश छाडेर गुमाएका यस्ता धेरै कुरा रहेछन् जुन आज भोग्दैछु । मैले छोराछोरीलाई संस्कार सिकाउन सकिन छु जुन मैले आफ्नो देशमा सिकेकी थिएँ । एउटै परिवारमा आपसमा भेट हुन समय मिलाउनु पर्ने जिन्दगी मेसिन भन्दा बढी बनाइएछ ।

आज म फेरी आफ्नो देशमा फर्किएकी छु र त्यो ठाउँमा उभिएकी छु जहाँ मैले आफ्नो यौवनको भरपूर आनन्दमयी समय गुजारेकी थिएँ । मैले विलयसँग यही ठाउँमा यही बेन्चमा बसेर कति पीडा साटेकी छु । कति खुशी साटेकी छु । आज ती सबैकुराहरू झल्झली आईरहेछन् । फेरी त्यही समय फर्कने भएदेखि । फेरी त्यही मौका मिलेदेखि म विलयलाई छाडेर कतै जाने थिइन । अहिले विलय कहाँ होला ? उ पनि त बुढो भयो के गर्दै होला, अब फेरी कहिले हाम्रो भेट होला कि नहोला ?

प्रिय ह्वाइट बेन्च ! प्रिय जाकारान्डा ! विलय आज पनि यहाँ आएर बस्दो हो । जसरी हामी सँगै बस्थ्यौ पहिला पहिला । यदि आजपनि उ यहाँ आउँछ भने उसलाई भनिदेउ कि उसकी मायालुले आजपनि उस्तै माया गर्छे जस्तो पहिला गर्थी । त्यो मेरो गल्ती थियो कि मैले ऊ र उसको माया नरोजेर अष्ट्रेलिया रोजेँ, सुख सुविधा रोजेँ ।

विलय ! आज म ती मेरा सम्पूर्ण गल्तीहरूलाई सुधार्न चाहन्छु । तिम्रो साथमा रम्न चाहन्छु, तर के गर्नु जो बित्यो त्यो आउँदैन जो आउँछ त्यो थाहा हुँदैन । तिमीले त्येतिबेला भनेको कुरा बुझ्न सकिन अहिले बुझेँ तर त्यसको कुनै अर्थ छैन । जे होस म तिमीलाई भेट्न चाहन्छु र फेरी फेरी भेटिरहन चाहन्छु । रामेछाप

सम्बन्धित समाचार

thumbnail

गजल

उमेश थापा मगर लगाउॅंछु नजर राम्री तिर,ठोकिन्छ कि कतै ईशारा मनको बुझी उनि,रोकिन्छ कि कतै आज सम्म त सम्हाल्दैथे ,बहकिने यो मन उन्कै निम्ती साचेको माया,पोखिन्छ कि कतै लुकिछिपी भेट्दै हामी,सुनसान त्यो…

thumbnail

बैरागीका दुई देश भक्ती मुक्तक

१.पहाड खस्न लाग्दा तराईले काँध हाल्नु पर्छ तराई डुब्न लाग्दा पहाडले बाँध हाल्नु पर्छ हाम्रो भूमि अरूलाई मिच्न दिनु हुन्न अब हिमाल पहाड तराई सबै मिली साँध हाल्नु पर्छ । २.पहाड तराई…

thumbnail

लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक

बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम…