पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भन्नुभयो, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’ उहाँको दाबीअनुसार त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।

अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको शाहले बताउनुभयो । उहाँका अनुसार अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ६ दिन म्याद थप गरिएको छ । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको शाहले बताउनुभयो ।

रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार