जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवा प्रभावित हुँदा सेवाग्राहीलाई सास्ती (तस्बिर सहित)

साधन राम्जाली

बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार दिउँसो एक बजेदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । विद्युत अवरुद्ध भएसंगै प्रशासनमा सेवा प्रभावित हुँदा सेवाग्राहरीहरुले सास्ती व्यहोर्नुपरेको हो । प्रशासनमा जडान भएका इन्भटर ,ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि विद्युत आपुर्ति संगै सेवा पनी बन्द हुन थालेको हो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८,कुइनेबाट श्रीमतिको नागरिकता बनाउन आउनुएभका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुईदिन बेनीमा बस्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘सानो बच्चा सहित दिउँसो साढे १२ बजेदेखि साँझ पाँच बजेसम्म कुरेर बसेको विजुली छैन् भनेर काम गरेनन्,’–उहाँले भन्नुभयो, ‘भोली (सोमबार) विदा छ । टाढाबाट आएकोले काम सकेर घर फर्कने योजना थियो । पर्सीसम्म बेनी बस्नुपर्ने भयो ।’

उहाँले थप्नुभयो ,‘यस्तो महत्वपुर्ण कार्यालयमा विद्युत आपुर्तिको बिकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।’ आइतबार जिल्ला प्रशासनमा विविध सिफारिसका अन्य सेवा ग्राही सेवा लिनबाट बञ्चित भएका छन् ।संवेदनशिल बिषयमा हुने सुचना आदनप्रदान गर्न पनि समस्या भएको कर्मचारीहरुले बताएका छन् ।

लामो समय सम्म विद्युत अवरुद्ध भएको र प्रशासनमा उपलब्ध इन्भटर, ब्याट्री र सोलार सेट पनि बिग्रिएको कारण सेवा प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार ,विद्युत अवरुद्ध हुँदा नागरिकता लगायत विविध सिफारिसका सेवा प्रभावित भएका छन्  ।

बागलुङ र पर्वतको सिमानमा पोल ढल्दा आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म म्याग्दीमा केन्द्रिय प्रशारण लाइनको विद्युत आपुर्ति बन्द भएको थियो । बि.सं.२०७६ मा जडान गरिएको सोलार, ब्याट्री र इन्भटर बिग्रिएपछि समस्या भएको प्रशासनले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार