म्याग्दी नदी कटानले सरस्वती मावि र बस्ती उच्च जोखिममा (तस्बिर सहित )

म्याग्दी । म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित बस्ती र विद्यालय उच्च जोखिममा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् ।

बस्ती नै उच्च जोखिममा परेपछि आफन्तको शरणमा परेको पीडित दिनेश केसीले बताउनुभयो । मसार बस्ती नै उच्च जोखिममा परेपछि घर छोड्न बाध्य भएको उहाँले दुखेसो सुनाउनुभयो । यस्तै, स्थानीयको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयबासी त्रासमा बस्न बाध्य भएको स्थानीय अगुवा टेकबहादुर फगामीले बताउनुभयो ।

जेठ ३१ र असार १ मा आएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढी कटानले विद्यालयको क्यान्टिन समेत बगाएको छ । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवन समेत उच्च जोखिमा परेका छन् ।

वर्षातका कारण नदी कटानको जोखिम नरोकिएकोले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रअ सुरत बानियाँले बताउनुभयो । उहाँले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय र नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भइरहेको जानकारी दिनुभयो ।

वडा कार्यालयका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये ८ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ । प्रभावित बस्तीमा तत्काल नगरपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँ, जिल्लास्थित नेपाली कांग्रेस र एमाले लगायत विभिन्न संघसंस्थाले राहत उपलब्ध गराएको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।बस्ती संरक्षणका लागि नगरपालिकाले पोखराबाट प्राविधिक ल्याएर डिपिआरको काम भइरहेको छ । वडा अध्यक्ष पौडेलका अनुसार डिपिआर तयार भएपछि रुपाताल संरक्षण समिति र प्रदेश सरकारलाई पठाइने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार