काठमाडौँ । भारतबाट आउने बुलेटबाट सिधै सिलिण्डरमा ग्यास भरेर बेच्ने पक्राउ परेका छन्। प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्यास बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ग्यास चोरी गरेर बेच्ने कार्यमा संलग्न स्थानीय व्यापारी ४३ वर्षीय भरत कार्की, चालकहरू सुनुकुमार र विपिन कुमार छन्। भारतबाट आएका दुइटा एन।एल ०११० १३१ र युपी ७० बिटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले दुइटा बुलेट, बुलेटका चालक र १८ वटा खाली तथा १३ वटा भरिएका विभिन्न कम्पनीका सिलिण्डर समेत नियन्त्रणमा लिन सफल भएको बताउनुभयो।
ुसिलिण्ड भर्नका फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको छु, उहाँले भन्नुभयो,‘असुरक्षित र जोखिमपूर्ण तरिकाले बुलेटको खतरा लेखिएको बक्स खोलेर घरेलु उपकरण प्रयोगमा ग्यास चोरी हुने गरेको फेला पारेका छौं, एउटा बुलेटबाट ८ देखि १० वटा सिलिण्डर चोरी गर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
प्रहरी अनुसार अन्य ग्यास बोक्ने बुलेटको गिरोह नै यस्तो कार्यमा संलग्न भएको आशंका गरिएको छ । प्रहरीले पाएको प्रारम्भिक जानकारी अनुसार भारतीय बुलेट चालकले कार्कीको पसलमा नियमितरूपमा ग्यास बिक्री गर्ने गरेका थिए । उनीहरूले प्रतिसिलिन्डर १ हजार रुपैयाँमा कार्कीलाई बेच्ने र कार्कीले १३ सय रुपैयाँमा उपभोक्तालाई बिक्री गर्ने गरेको खुलेको छ।उक्त ग्यास बुलेट पोखराको शक्ति ग्यास उद्योग र धादिङको क्याप्सन ग्यास उद्योगमा लैजाँदै थिए। सेतोपाटीबाट