
नेपालगन्ज । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आफनो समूहबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने स्पष्ट पार्नुभयो ।
आफू १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफनो टिमबाट आफूलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने दाबी गर्नुभयो । ‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व हो, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं,’ उहाँले भन्नुभयो ‘केही साथीहरुको आकांक्षा कता–कता सुन्नमा आए पनि सबै साथीहरूसँग छलफल गरेर एउटै उम्मेदवार टुंगो लगाउँछौं ।’ उहाँले अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताउनुभयो। ‘दसैं अगाडि नै कार्यसमिति बैठक बोलाउनुस्, पार्टीको अधिवेशन कसरी समयमा गर्छौँ, छलफल गरौं भनेर मैले भनेको हुँ, अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन,’ पौडेलले भन्नुभयो ।
आफू काठमाडौं फर्केर पनि यस विषयमा पार्टी सभापति देउवालाई भन्ने बताउनुभयो। ‘पार्टीको अधिवेशन हुनुपर्छ, अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको अवस्था छ,’ पौडेलले भन्नुभयो, ‘वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं ।’संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।
पार्टीको अधिवेशन कार्यतालिकाअनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्छ भनेर आफूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।कम्युनिस्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजाँदा सरकारलाई हटाउन बाध्य भएको जनाउँदै उनले अहिले पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्ती दोहोर्याउन नहुने बताउनुभयो । ekantipurबाट