
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्।प्रधानमन्त्री बालेन शाहले आज दुई मन्त्री थप गरेलगत्तै शपथ लिएका हुन्।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए।यसअघि २७ दिन गृहमन्त्री भएका सुधन सम्पत्ति स्रोतमाथि विवाद भएपछि राजीनामा दिएका थिए।

सरकारले उनीमाथि छानबिन गर्न एउटा समिति बनाएको थिए। छानबिन समितिले क्लीनचिट दिएपछि गुरुङलाई गृहमा फर्किएका हुन्। उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्। नवप्रवर्तन मन्त्री बनेका महावीर म्याग्दीबाट स्वतन्त्र निर्वाचित भएका हुन्। उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारको शिक्षामन्त्री बनेका थिए। अहिले सरकारले संघीय प्रशासनिक संरचनामा सुधार गर्दै मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । २०८३ वैशाख ३० मा बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याएपछि नयाँ मन्त्रालयका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अस्तित्वमा आएको हो ।स्वतन्त्र निर्वाचित भएपनि प्रधानमन्त्री बालेनले पुनलाई क्याबिनेटमा ल्याएका हुन्।














































