सडक दौड प्रतियोगिताको उपाधी बेनी बोर्डिङका भूमिराज र हेम माविकी मनिषालाई (तस्बिरहरु)

बेनी । ३२ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद विकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए । ८ किलोमिटर दुरी २४ मिनेट ६ सेकेण्डमा पार गर्नुभएका बेनी बोर्डिङ आवासीय माविका भूमिराज नेपाली छात्रतर्फ प्रथम हुनुभएको छ ।

दोस्रो हुनुभएका भानु माविका महेश किसानले २४ मिनेट ३५ सेकेण्ड, तृतीय हुनुभएका थामडाँडा युवा क्लबका मनिष गुरुङले २५ मिनेट २० सेकेण्ड र चौथो हुनुभएका बेनी सामुदायिक माविका रामबहादुर चित्रकारले २६ मिनेट १५ सेकेण्डमा ८ किलोमिटर दुरी पार गर्नुभएको थियो ।

छात्रातर्फ प्रथम हुनुभएकी हेम मावि शिवाङकी मनिषा खत्रीले ३३ मिनेट, द्वितीय हुनुभएकी न्यु वेष्ट पोइन्ट आवासीय माविका एन्जिला खत्रीले ३४ मिनेट ४७ सेकेण्ड र तृतीय हुनुभएकी प्रकाश माविकी देबी थापाले ३८ मिनेट ४७ सकेण्डमा दुरी पार गर्नुभएको थियो ।

४१ मिनेट लगाएका बेनी सामुदायिक माविका तारादेबी क्षेत्री, सुजा बानिया र बिनिता क्षेत्री तीनै जना सान्तवना हुनुभयाे । प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई क्रमश :आठ हजार, पाँच हजार, तीन हजार र एक हजारका दरले पुरस्कार वितरण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राना, समितिका अध्यक्ष केसी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ, प्रदेश सदस्य चन्दा घले, कार्यालय प्रमुख दानबहादुर राइले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख अतिथि प्रजिअ रानाले प्रतियोगिताले किशोर किशोरीहरुको खेल प्रतिभा पहिचान र प्रस्फुटन गराउन सहयोग पुगेको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार