
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा घटेका घटनाको सत्य तथ्य छानबिन गरी पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी नै रहेको बताउनुभएको छ ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा जारी विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो । ‘युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ,’
विज्ञप्तिमा भनिएको छ, ‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौँ र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौ ।’ रातोपाटीबाट