जनकपुरका मेयरको कार्यकक्षमा वडाध्यक्षले लगाए ताला

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन्। सरसफाइका लागि भन्न जाँदा कर्मचारीले वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुर्व्यवहार गरेको विरोधमा वडाध्यक्षहरूले तालाबन्दी गरेका हुन्।

वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायतले सोमबार तालाबन्दी गरेका हन्। तालाबन्दीपछि वडाध्यक्षहरूले मेयर साहविरूद्ध नाराबाजी गरेका थिए । भ्रष्टाचारी मेयर– मुर्दावाद, सफाइ कर्मचारी–मुर्दावाद, जनकपुरलाई सफा गर, करारको कर्मचारीलाई खारेज गरलगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका थिए । वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहका अनुसार वडाध्यक्ष सिंहलाई सरसफाइ शाखाका कर्मचारीले गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए।

‘सञ्चयकोषको कार्यालय नजिक गाई मरेको थियो। उहाँले सफाइ कर्मचारीलाई फोन गर्दा गाली गर्नुभो। कार्यालयमा जाँदा दुर्व्यवहार र गालीगालौज भयो,’ उहाँले भन्नुभयो। दुर्व्यवहार गरेका दुई जना कर्मचारीलाई निलम्बन गर्न माग गर्दै तालाबन्दी गरेको वडाध्यक्ष साहले बताउनुभयो। आन्दोलनमा उत्रिएका वडाध्यक्ष तथा सदस्यहरूले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्।

केही वडाध्यक्षहरूले सफाइको लागि पाँच महिनाअघि हस्ताक्षरसहित निवेदन दिएका थिए। त्यसयता उनीहरू सरसफाइको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन्। केही दिनअघि आन्दोलित वडाध्यक्षले नगर प्रमुख साहकै घरअगाडि ट्याक्टरमा फोहोर राखेर थुपारेका थिए। ‘जनकपुरधाम नगर क्षेत्रमा महिनौंदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ। हामीले जति भने पनि दशैंमा सफा भएन, दीपावलीमा पनि मेयरसाबले चासो देखाउनुभएन। विवाहपञ्चमी नजिक आइसक्यो त्यही भएर हामी निरन्तर सरसफाइका लागि आन्दोलन गरिरहेका छौं,’ वडाध्यक्ष साहले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार