कांग्रेस सभापतिमा फेरि लड्छु : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताउनुभएको छ । सोमबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,’म पार्टीको विधानवमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । म प्रधानमन्त्री पनि छु । यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएको हुँ । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । त्यसैले मैले पार्टीका साथीहरुलाई पनि आग्रह गरेको छु ।

तपाईंहरुमार्फत् सबैलाई आग्रह गर्न चाहन्छु । एकपटक मलाई सहयोग गरिदिनुस् ।’प्रधानमन्त्री देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने पनि बताउनुभयो । उहाँले पार्टीको आन्तरिक गतिविधि भएकाले शक्ति प्रदर्शन आवश्यक नरहेको बताउनुभयो । “पार्टीको महाधिवेशन गर्ने हो,’ उहाँले भन्नुभयो,’शक्ति प्रदर्शन हामीले गर्दैनौँ ।’

एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरेको उहाँको भनाइ थियो । ‘अलि अलि मान्छे त भइहाल्छन् । बागमतीका जिल्लाबाट कार्यकर्ता आउँछन् । सकेसम्म कम आउन भनेका छौँ,’ उहाँले भन्नुभयो,’कोरोनाको अर्को भेरियन्ट आएको छ शक्ति प्रदर्शन गर्ने बेला यो होइन नि । एमाले जस्तो कार्यकर्ता ल्याएर शक्ति प्रदर्शन कांग्रेसले गर्दैन ।’

देउवाले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै भएको बताउनुभयो । कांग्रेस सभापतिसमेत रहेका देउवाले राष्ट्रियसभाको चुनावपछि गठबन्धन रहने कि नरहने भन्ने विषयमा कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो,’अहिलेको गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएर कुनै सहमति भएको छैन ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार