अनावरण हुनुअघि नै चोरी भयो गणेशलाल श्रेष्ठको प्रतिमा

मकवानपुर । मकवानपुरको भीमफेदीबाट लेखक तथा स्रष्टा गणेशलाल श्रेष्ठको प्रतिमा चोरी भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको लेखक श्रेष्ठको अर्ध कदको प्रतिमा गएराति चोरी भएको हो ।

पूर्व परराष्टविद् हिरन्यलाल श्रेष्ठले प्रतिमाको आज एक समारोहका बीच अनावरण गर्ने कार्यक्रम तय भएको थियो । अनावरण कार्यक्रमको एक दिन अघि प्रतिमा चोरी भएपछि कार्यक्रम स्थगित भएको छ । भीमफेदी गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब १ महिना अघि नै प्रतिमा स्थापना गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ ।

कुल ३ लाख ५० हजार र अन्य व्यवस्थापन गरी कूल ५ लाख लागतमा लेखक श्रेष्ठको प्रतिमा तयार पारिएको प्रतिमा अनावरण कार्यक्रम तयारी समितिका संयोजक विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । उक्त घटनाका बारेमा छानविन गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले स्रष्टाको सम्मान स्वरुप गर्न लागिएको यस्तो महान कार्यमा अवरोध पुर्याउने जो कोही भएपनि कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । उहाँले तत्काल अनुसन्धान गरी घटना घटाउने गिरोहलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार