गठबन्धन चुनावसम्म टिक्छ : नेपाल

दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै टिक्ने बताउनुभएको छ । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो भन्नुभएको हो। ‘हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं ।

स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं ।’ कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उहाँको तर्क थियो । अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी लाग्ने गरेको आरोप सत्य नभएकोसमेत उहाँले बताउनुभयो।

साथै उहाँले अबको केही समयमा ससाना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताउनुभयो। ‘तत्काल कुनै पनि ठूला कम्युनिस्ट पार्टीसँग एकताको सम्भावना छैन,’ उहाँले भन्नुभयो, ‘तर, साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं ।’

अर्को प्रसंगमा नेता नेपालले एमसीसी हुबहु पारित गर्न नहुनेसमेत बताउनुभएको थियो । ‘हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौं। देशको स्वाभिमानमा आँच पुगोस्, जसले नेपालको आन्तरिक मामिलामा अरुले हस्तक्षेप गर्ने ढोको खोलोस्, छिमेकीलाई सशङ्कित बनाओस्, अरुको सैन्य गठबन्धनमा बाँध्ने स्थिति बनोस् । हामी स्वतन्त्र ढङ्गले बाँच्न चहान्छौं,’ उहाँले भन्नुभयो । साथै उहाँले सैन्य र सुरक्षाका कुरासँग नजोडिने विषयमात्रै स्वीकार्य हुने पनि बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार