क्रिकेट खेलाडी र क्यानबीचको विवाद सामान्य : मुख्य प्रशिक्षक दासानायके

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुग्नुभएको छ । यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु मंगलबार नेपाल आइपुग्नुभएको हो । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो ।

क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनस् नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाउनुभएको हो । मंगलबार विमानस्थल ओर्लिपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले पुनस् नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताउनुभयो । पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्‍याउने जिम्मेवार थपिएको बताउनुभयो ।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठाभित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक दासानायकेले यसअघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । पूर्व मुख्यप्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो । त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार