एमसीसी कुनै हालतमा पारित नगर्न माओवादीको प्रवास समन्वय समितिको सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ कुनै पनि हालतमा पारित गर्न नहुने प्रस्ट पारेको छ । पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्दै मनऋषि धितालले यस्तो बताउनुभएको हो ।

उहाँले एमसीसी सम्झौता संशोधन गरेर पारित गर्नुपर्ने चर्चा चलिरहेकोतर्फ संकेत गर्दै आफ्नो समूहमा भएको छलफलमा सहभागीहरुले संशोधन भएको अवस्थामा समेत पारित गर्न नहुने सुझाव दिएको प्रस्ट पार्नुभयो । ‘एमसीसी पारित गर्नु हुँदैन, संशोधन गरिए पनि यसलाई पारित गर्नु हुँदैन भन्ने सुझाव आएको छ,’ बन्दसत्रमा उहाँले भन्नुभयो । अध्यक्षको प्रतिवेदनमा ‘वाम लोकतान्त्रिक शक्तिको साझा कार्यभार’ भनिएको उल्लेख गर्दै धितालले ‘क्रान्तिकारी शक्तिको साझा कार्यभार’ भनेर छुट्टै चर्चा गरेको भए हुन्थ्यो भन्ने सुझाव आफ्नो टोलीमा रहेका प्रतिनिधिहरुले राखेको जानकारी दिनुभयो।

राजनीतिक प्रतिवेदनमा चीन कुन बाटोमा छ भन्ने पनि उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ । आफ्नै पार्टीको अगुवाईमा राजनीतिक क्रान्ति पूरा भएको भन्दै उहाँले अब औद्योगिक क्रान्तिको नेतृत्व पनि माओवादी केन्द्रले नै गर्नुपर्ने तर अध्यक्षको राजनीतिक प्रतिवेदनमा आर्थिक क्रान्ति कसरी गर्ने भन्ने प्रस्ट नभएको सहभागीहरुको गुनासो रहेको उहाँले सुनाउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार