म्याग्दीमा आइतबारदेखि विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने

म्याग्दी । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । आज (शुक्रबार) म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा समीक्षा गरिएको हो ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा समीक्षा गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा किशोरीहरुलाई आइरन चक्की खुवाउने विषयमा गतवर्ष सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा चालु वर्षमा सञ्चालन गर्न लागिएको कार्यक्रमको बारेमा अन्तत्र्रिmया र छलफल गरिएको थियो ।

विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले जानकारी दिनुभयो । बेनी नगरपालिकाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य सहसंयोजक डिल्लीराज आचार्यले विद्यालय तथा पोषण कार्यक्रममाथि सहजीकरण गर्नुभएको थियो ।

यसैगरी सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्यसहित उनीहरुलाई आइरन चक्की खुवाउन लागिएको हो । एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत साउन–भदौ र असोज तथा माघ–फागुन र चैत गरी दुई चरणको ६ महिनाको अवधिमा २६ हप्तासम्म आइरन चक्की खुवाइने स्वास्थ्य शाखाका सहसंयोजक आचार्यले बताउनुभयो । म्याग्दीमा पर्सि (आइतबार)देखि आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले राज्यको लगानीमा सञ्चालित किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत पाँचवटा विद्यालयमा स्टाफनर्स कार्यक्रम लागू गरिएको तथा आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय खाजा कार्यक्रम सञ्चालन भैरहेको हुँदा सरोकारवाला निकायले पनि आफ्नो तर्फबाट अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुआहारा कार्यक्रमका बागलुङ–म्याग्दी संयोजक राजेन्द्र अधिकारी र धवलागिरि माध्यमिक विद्यालय सिङ्गाका प्रधानाध्यापक डण्डपाणि सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोरावस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्छ ।

मानव शरिरमा हुने राता रक्तकोशिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ । आइरन तथा पोसिलो खाना कम खानु, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामा गर्भवती हुने कारणले रक्तअल्पता हुन्छ । रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यकता पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार