पार्टीमा रुपान्तरण ल्याउन सकिएन : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को शनिबार खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताउनुभयो ।

‘पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्‍यौं तर केही साथीहरूका व्यक्तिगत आकांक्षाका कारण पूरा हुन सकेन,’ पौडेलले भन्नुभयो । वरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिनुभयो । ‘सबै साथीहरू उठ्छौं भनेपछि म प्रतिस्पर्धाबाट अलग रहेँ, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइनँ,’ उहाँले भन्नुभयो, “१४औं महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन ।’

वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिनुभयो । कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उनले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । देशको संसद्ले गति लिन नसकेको बताउँदै उहाँले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राख्नुभयो ।

सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी पारित गर्नुपर्ने बताउनुभयो। पौडेलले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गर्नुभयो । कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पदस्थापन गर्नुभएको हो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार