
काठमाडौँ, २६ जेठ । वैज्ञानिक तथा स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस भएका छन् । प्रधानमन्त्री बालेन शाहले पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन लामो समयदेखि नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने पक्षमा आवाज उठाउँदै आएका छन् । सरकारले हालै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि पुनलाई मन्त्री बनाउने चर्चा चलिरहेको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनले राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । मन्त्री नियुक्तिसँगै पुनले देशमा अनुसन्धान, नवप्रवर्तन तथा प्रविधि विकासका क्षेत्रमा नयाँ पहल गर्ने अपेक्षा गरिएको छ ।














































