काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले पाउनुभएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । ‘आइतबार मन्त्रालयबाट पत्र बुझें, आजबाट नयाँ जिम्मेवारी सम्हाल्छु,’ डा. अधिकारीले भन्नुभयो । डा. अधिकारी प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुनुहुन्छ ।
नेपाल सरकारको केन्द्रीय मानसिक अस्पतालका रूपमा वर्गीकरण गरिएको मानसिक रोग अस्पताल पाटन हाल ५० बेडमा सञ्चालन भइरहेको छ । बिरामीको चापअनुसार अस्पतालका लागि उक्त बेड संख्या अपर्याप्त भएको निर्देशक डा. अधिकारी बताउँनुहुन्छ । ‘बिरामीको चापअनुसार अस्पतालको भौतिक संरचनासमेत अपुग छ । अब भौतिक संरचनालाई सुधार गरेर एक सय बेड बनाउने योजना छ,’ डा. अधिकारीले भन्नुभयो । अनलाइनखबरबाट