मिरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने आयात–निर्यात ठप्प

विराटनगर । विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो ।

जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न रोक लगाएको थियो । भारतीय पक्षले रोक लगाएका कारण विराटनगरतर्फ आइरहेका मालबाहक सवारी साधन पुल पारी नै रोकिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयात–निर्यात रोकिएपछि पुलका विषयमा अध्ययन गर्न टोली पठाइएको बताउनुभयो ।

भारतीय पक्षसँग छलफल भएको बताउँदै उहाँले मिरगञ्ज पुलबाट आयात हुन नसके वैकल्पिक बाटो प्रयोग गरिने बताउनुभयो ।गत २०७४ साउन २९ गते पनि क्षतिग्रस्त बनेको सो पुल पुनः मर्तत गरेर सञ्चालन गरिएको थियो । पुनः भासिएपछि बिहीबार दिउँसोबाट ठूला मालबाहक सवारी साधन रोकिएको भारतीय पक्षले जानकारी गराएको छ । यसअघि पुल भासिदा सुनसरीको कोसी ब्यारेजको रुट प्रयोग गरिएको थियो । विराटनगर भन्सारका लागि आएका मालबाहक सवारीलाई कोशी ब्यारेज तर्फ डाइभर्ट गर्दा लागत खर्च बढ्ने उद्योगी राजेन्द्र राउतले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले केन्द्र सरकारले मिरगञ्जकै बाटो खुला गर्नका लागि पहल गर्नुपर्ने बताउनुभयो। ‘मिरगञ्ज पुल बन्द हुँदा विराटनगर नाका सिल भएजस्तै हुन्छ, अर्को रुट प्रयोग गर्दा लागत बढ्छ,’ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकार समेत रहेकार राउतले भन्नुभयो, ‘संघीय सरकारले तत्काल पहल गर्नुपर्छ ।’

पुलको अवस्थाको विषयमा अध्ययन गर्नका लागि मुख्यमन्त्री कार्यालयलले पनि चासो देखाएको उहाँले बताउनुभयो।मीरगञ्जको पुरानो पुल नजिकै चार लेन सडकलाई जोड्ने पक्की पुल पनि निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको पुलको काम चाँडै सके अर्को रुट प्रयोग गर्नुपर्ने बाध्यता नरहेको व्यावसायी बताउँछन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार