राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न सुरु

१५ दिनभित्र परीक्षण उत्पादनको तयारी

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी । म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङमा आइतबारदेखि पानी भर्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेड ले निर्माण गरिरहेको आयोजनाको दग्नाम–झिँ क्षेत्रस्थित बाँधदेखि पिप्लेस्थित तेस्रो अडिटसम्मको ६.२७ किलोमिटर लामो मुख्य सुरुङमा पानी भर्न थालिएको हो ।

default

रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाका निर्माण सम्पन्न भौतिक संरचनाको परीक्षण गर्ने क्रममा सुरुङमा पानी भरिएको हो । पहिलो दिन करिब १,६०० मिटर सुरुङमा पानी भरिएको र करिब चार दिनभित्र सम्पूर्ण सुरुङमा पानी भरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

“सुरुङमा पानी भरेर करिब १५ दिनसम्म परीक्षण गरिनेछ । यस अवधिमा कुनै समस्या नदेखिएमा विद्युतगृहमा जडान भएका दुईमध्ये एक २० मेगावाट क्षमताको युनिटबाट परीक्षण उत्पादन सुरु गरिनेछ,” केसीले भन्नुभयो । सात वर्षभन्दा बढी समयको प्रयासपछि आयोजना विद्युत उत्पादनको चरणमा प्रवेश गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

default

यसअघि बाँध, पानी थिग्राउने पोखरी (डिसेन्डर) तथा स्विचयार्डको सफल परीक्षण सम्पन्न भइसकेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा निर्माण गरिएका संरचनाहरू परीक्षणमा सफल भएपछि आयोजनाले अब उत्पादनतर्फको अन्तिम चरणमा प्रवेश गरेको हो ।

तिल्केनीचौरस्थित विद्युतगृह निर्माणको काम सम्पन्न भई रंगरोगन भइरहेको छ । २० मेगावाट क्षमताको एउटा युनिट जडान भइसकेको छ भने अर्को युनिटको जडान कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युतगृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपीं)ले सन् २०१७ नोभेम्बर १७ मा करिब ६ अर्ब रुपैयाँ लागतमा ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको थियो । विभिन्न कारणले पटक–पटक म्याद थपिएपछि हाल चौथो पटक थपिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजनाले जनाएको छ ।

कोरोना महामारी, बाढी–पहिरोजस्ता प्राकृतिक विपद् तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण कार्य प्रभावित भएको ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो । आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा गरिएको थियो । भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको छ ।

यसअघि आर्थिक समस्याका कारण पुरानो ठेकेदार आईभिआरसिएलसँगको सम्झौता २०७२ सालमा रद्द गरी नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको थियो । नयाँ ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण र २०७६ असारमा सुरुङ खन्ने काम सुरु गरेको थियो ।

आयोजनाबाट वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादित विद्युत कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । यसका लागि आवश्यक चारवटा टावर तथा प्रसारण लाइन निर्माण भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार