माघ ७ देखि खोप कार्ड भएकालाई मात्रै सार्वजनिक सेवा दिन सिफारिस

काठमाडौँ । सार्वजनिक सेवाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ । सीसीएमसीसीले आइतबार सार्वजनिक गरेको १३ बुँदे सिफारिस पत्रमा लेखिएको छ, ‘माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्य अनिवार्य गर्ने ।’

हालसम्म नेपालमा एक करोड ५० लाख ५९ हजार ९१८ जनाले एक मात्रा खोप लगाएका छन् । दुवै मात्रा खोप लगाउनेको संख्या एक करोड ११ लाख ३४ हजार ६९८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ४९३ जनाले खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालको जनसंख्याको आधा प्रतिशतले पनि खोप नलगाएको अवस्थामा सीसीएमसीले भने कोरोना भाइरस विरुद्धको खोप लगाएकालाई मात्रै सार्वजनिक सेवा दिन सरकारी निकायहरूलाई सिफारिस गरेको हो । कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश दिन सिफारिस गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई माघ ७ गतेपछि आन्तरिक उडानमा कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड बोकेका यात्रुलाई मात्रै प्रवेशको व्यवस्था मिलाउन सिफारिस गरेको छ । सीसीएमसीले नियमित खोप केन्द्रहरूमा खोपलाई अभियानकै रूपमा अगाडि बढाउन पनि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार