राष्ट्रिय समन्वय परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छः आचार्य

एजेन्सी । गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताउनुभएको छ ।

एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उहाँले त्यसलाई अत्यन्तै तल्लोस्तरको मिडियाबाजी भएको प्रतिक्रिया दिनुभएको छ । एनआरएनएलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने नेपाल सरकारको नयाँ नियमबारे जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रमपछि आचार्यले विधि र विधानभन्दा बाहिर गएर गरिएको सहमति मान्य नहुने बताउनुभयो।

उहाँले प्रश्न गर्दै भन्नुभयो,‘हामीले सहमति गर्ने भए किन एनसीसी चाहिए, प्रतिनिधि किन चाहियो, विधान किन चाहियो रु’ अध्यक्ष कुमार पन्त र आफू विवाद समाधान गर्नका लागि आन्तरिक छलफलमा रहेकै बेला एक्कासी सहमति भएको भनि प्रचार गरिएको भन्दै उहाँले केही स्वार्थी व्यक्तिहरुले संस्थालाई बिखण्डनतिर लैजाने दुस्प्रयास गरेको प्रतिक्रिया दिनुभयो ।

एनआरएनए सबै अभियन्ता संस्थाप्रति चिन्तित रहेको जानकारी दिँदै सल्लाहकार आचार्यले सहमतिको नाममा गरिएको कुप्रचारको बैधता नहुने जिकिर गर्नुभयो । १०औं महाधिवेशनबाट नेतृत्व लिनका लागि दौडमा रहेका उमेदवारले प्रतिनिधि चयन गर्न अधिकार नभएको बताउँदै आचार्यले भन्नुभयो,‘जुन दिन राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएको प्रतिनिधि चयनले मान्यता पाउँछ त्यो दिन मात्रै निर्वाचन र महाधिवेशन हुन्छ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार