एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर गुरूङ विजयी

पोखरा । नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल (बैरागी) ले ४०७ मत पाउनुभएको थियो ।

अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष हुनुहुन्थ्यो। जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि गुरुङ कार्यबाहक जिल्ला अध्यक्ष बन्नुभएको थियो । उहाँ गण्डकी प्रदेश सांसदसमेत हुनुहुन्छ। अध्यक्षमा पराजित बैरागी यसअघि जिल्ला कमिटी सचिव हुनुहुन्थ्यो। सर्वसम्मत नेतृत्व चुन्न ४ दिनसम्म प्रयास गर्दा बिफल भएपछि निर्वाचन भएको थियो।

निर्वाचनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह प्यानलसहित चुनाव लड्नुभएको थियो । अध्यक्षमा निर्वाचित गुरूङ पृथ्वीसुब्बा समूहका हुनुहुन्छ भने पराजित बैरागी खगराज समूहका उम्मेदवार हुनुहुन्छ । बुधबार बिहान सार्वजनिक नतिजा अनुसार उपाध्यक्षमा गुरूङ प्यानलका तेजनारायण अधिकारी, सचिवमा बैरागी प्यानलका बैनबहादुर अधिकारी र उपसचिवमा दर्शन लामा र नवराज ओझा निर्वाचित हुनुभयो। उपसचिवद्वय पनि खगराज प्यानलका हुनुहुन्छ ।

एमाले विधानले पार्टी नेतृत्व चुन्दा प्यानल बनाएर चुनाव लड्न निषेध गरेको छ। कास्कीमा विधान विपरित पदाधिकारी र सबै क्लस्टरका सदस्यसम्म प्यानल बनेको थियो।उम्मेदवारले आफ्नो प्यानलमा मतदान गर्न अधिवेशन प्रतिनिधिलाई सूची वितरण गरेको थियो। एमाले कास्की अधिवेशनमा ९१९ प्रतिनिधि छानिएका थिए। जसमा ८९५ जनाले मतदान गरेका थिए । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार