सेवा निरन्तर जारी रहन्छ : बुद्ध एयर

काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवा निरन्तर जारी रहने जनाएको छ । पछिल्लो समय मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोम’ को संक्रमण र सन्त्रास तीव्र रुपमा फैलिरहेपनि हवाई सेवामा बुद्ध एयरले अधिकतम् सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गरिरहेकाले सेवा नरोकिने बताएको हो ।

बिहीबार एक सूचना जारी गर्दै बुद्ध एयरले आफ्नो सेवाग्राहीहरु मध्ये अधिकतम् ९५ प्रतिशत यात्रुले कोभिड विरुद्धको भ्याक्सिन लगाइसकेको र सेवा प्रदान गर्ने कम्पनीका पूर्ण कर्मचारीहरुले समेत खोपको पूर्ण डोज लगाइसकेकाले समस्या नभएको जनाएको छ । हाल बुद्ध एयरले उडान गरिरहेका गन्तव्यहरुमा कम्पनीले गरेको कुल एक हजार ८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा अधिकतम् एक हजार ७९३ जना यात्रुहरुले खोप लगाइसकेको पाइएको कम्पनीले जनाएको छ । यस अनुसार खोप लगाईसकेका यात्रुहरुको संख्या ९५ प्रतिशत हाराहारी हुन्छ । साथै, बुद्ध एयरका सम्पूर्ण कर्मचारीले समेत पूर्ण मात्रामा खोप लगाइसकेको कम्पनीले बताएको छ ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताउनुभएको छ । ‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । यसमा अध्ययन भएको थिएन । हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं । तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाइसेवालाई निरन्तर सञ्चालन गरिरहने छौं’, बस्नेतले भन्नुभयो ।

पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोना विरुद्ध निर्देशिका बनाएर महिनौं पूर्वअभ्याससमेत गरेको थियो । आफ्ना सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो । त्यस्तै संक्रमणरहित सरसफाईका लागि फग मेशिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताउनुभयो ।

उहाँले हरेक उडानपूर्व जहाजको सरसफाइलाई अनिवार्य बनाएको समेत बताउनुभयो ।यद्यपि, यात्रुहरुलाई अधिकतम् भन्दा अधिकतम् कोभिडविरुद्धको प्रोटोकल अपनाउन बुद्ध एयरले आग्रह गरेको छ । सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्न यात्रुहरुलाई भनेको छ भने, नियमित अन्तरालमा सेनिटाईजको प्रयोग गर्न समेत भनेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार