सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनुभएको हो ।

उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताउनुभयो । उहाँले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताउनुभयो ।’सुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्यौँ । जति जानेको थियो त्यति गर्यौँ ।

विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्यौँ । हामी आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्यौँ । त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर, त्यसले परेको शैक्षिक क्षेत्रको असर, औधोगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढंगले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ,’ उहाँले भन्नुभयो ।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाको पहिलो र दोस्रो मात्रा लगाएर सुरक्षित बस्न पनि आग्रह गर्नुभयो । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने भएकाले आउँदो माघ पहिलो हप्तादेखि अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्तादेखि आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार