पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

काठमाडौँ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो ।

अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिनुभयो । वि.सं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा मानन्धर संस्थापक सञ्चालकका रुपमा रहनुभएको थियो । लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उहाँ एक जना मात्र जीवित हुनुहुन्थ्यो । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आउनुभएको थियो ।

नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बन्नुभएको हो। व्यवसायका साथै उहाँ नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । मानन्धरले नेपाल भाषाको संवर्द्धनमा पनि काम गर्नुभएको थियो । मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उहाँको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार