एजेन्सी । पीएरे एमरिक आउबामियाङले आपसी समझदारीमा क्लब छाडेको आर्सनलले पुष्टि गरेको छ । उहाँ आर्सनल छाडेर बार्सिलोना पुग्नुभएको छ । तर, क्लबले गाबोनका फरवार्डसँग औपचारिक सम्झौता गर्न भने बाँकी रहेको छ ।
३२ वर्षीय खेलाडी सोमबार बार्सासँग करार गर्नका लागि सोमबार स्पेन पुग्नुभएको थियो । मंगलबार उनलाई बार्साको टोलीसँगै प्रशिक्षण गर्दै गरेको देखिएको थियो । ‘हामी आउबालाई उनको करियरको नयाँ अध्यायका लागि शुभकामना दिन चाहन्छौँ,’ आर्सनलले भनेको छ ।
आर्सनलले आउबामियाङले क्लबका लागि गरेको योगदानका लागि धन्यवादसमेत दिएको छ । आउबामियाङले आर्सनलका लागि १६३ खेलमा ९२ गोल गर्नुभएको छ । सन् २०२० को एफए कप फाइनलमा चेल्सीलाई हराउने क्रममा उहाँले दुवै गोल गर्नुभएको थियो।
क्लबले कीर्तिमानी १४ औँ पटक सो उपाधि जितेको थियो । तर, अनुशासन ताडेको आरोप लागेपछि उहाँ गत डिसेम्बरदेखि आर्सनलका लागि कुनै पनि खेलमा सहभागी हुनुभएको थिएन् । उहाँ चार वर्षअघि बोरुसिया डर्टमण्डबाट ५.६ करोड पाउन्डमा लण्डनको क्लबसँग आबद्ध हुनुभएको थियो । रातोपाटीबाट