धनुषा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताउनुभएको छ ।
शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गर्नुभयो ।
एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क अनि माध्यमिक शिक्षा निशुल्क हुने प्रावधानसहित त्यसलाई मौलिक हकअन्तर्गत राखेपनि कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो । माध्यमिक तहसम्म शिक्षा अनिवार्य र निशुल्क हुनुपर्ने कुरामा जोड दिँदै उहाँले श्रीलंका र माल्दिभ्समा स्नातक तहसम्म सरकारी शिक्षा निःशुल्क भएको तर नेपालमा काँग्रेस र कम्युनिस्टले व्यक्तिगत र राजनीतिक स्वार्थका लागि शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर हुने खानेको हातमा पुर्याई दिएको बताउनुभयो ।
कुनै सुविधा नभएको एउटा सानो अवासीय भवन भाडामा लिएर चलाएको प्राइभेट स्कुलभन्दा पूर्वाधार, दक्ष जनशक्ति र श्रोत साधनको हिसावले कैयौं गुणा राम्रो सार्वजनिक स्कूलको शिक्षा गुणस्तर नरहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जतिसुकै विकास र समृद्धिको कुरा गरेपनि सरकारी शिक्षाको गुणस्तरमा सुधार नआएसम्म संसारका कुनै पनि राष्ट्रले प्रगति गर्न सक्दैन ।’ रातोपाटीबाट