
काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले कांग्रेसभित्रै एकता बलियो बनाएर चुनावमा जाने हो भने अरू दलहरूसँग तालमेल गरिराख्नु नपर्ने बताउनुभएको छ । चुनावी गठबन्धनबारे केन्द्रीय कार्यसमितिमा छलफल चलिरहेका बेला केसीले पार्टीभित्रकै आन्तरिक एकतालाई जोड दिइनुपर्ने बताउनुभएको छ।
‘कांग्रेसभित्र आन्तरिक एकता बलियो बनाउन सकियो भने निर्वाचनमा सफलता हासिल गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘अरू दलको वैशाखी टेक्नुपर्दैन, कांग्रेस आफ्नै शक्तिमा चुनावमा जान र जित्न सक्छ।’उहाँले कांग्रेसलाई गठबन्धन गरेर चुनावमा आओस् भन्ने जनताले पनि नचाहेको बताउनुभयो । १४ औं महाधिवेशनले गर्दा देखिएको गुट तथा तिक्ततालाई अन्त्य गर्दै अघि बढे कांग्रेस एक्लै चुनाव जित्न सक्ने उहाँको भनाइ छ।
उहाँले कांग्रेस एकता र समन्वयको वातावरण बनाउने काम सातै प्रदेश समितिले गर्न सक्ने पनि बताउनुभयो। आफूभित्रको शक्तिलाई कांग्रेसले उपेक्षा गर्न नहुने उहाँले बताउनुभयो । उहाँले पार्टीभित्र विभिन्न संरचना गठन गर्दा प्रतिस्पर्धीलाई पाखा लगाउन नहुने बताउनुभयो । उहाँले सिद्धान्तहीन गठबन्धन गरेर जान नहुनेमा जोड दिनुभएको छ । सिद्धान्तहीन गठबन्धनले पछि पार्टीलाई नै बेफाइदा हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘धरातलीय वास्तविकता र जनभावना बुझेर अघि बढौं।’ सेतोपाटीबाट