जलश्रोतको व्यवस्थापन आजको आवश्यकता : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताउनुभएको छ ।

बुधवार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरूको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरू रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताउनुभएको हो । मन्त्री भुसालले भन्नुभयो, ‘८० प्रतिशतभन्दा बढी पानी वर्षातको बेलामा मात्र उपलब्ध हुने भएकोले बाढी, पहिरो जस्ता विपत्तिसँग पनि लडिरहेका छौँ ।

हाम्रो ठुलो आर्थिक स्रोतमा क्षति हुँदै आएको छ । त्यसै गरी अन्य समयमा नेपालका धेरै क्षेत्रमा खडेरीको समस्या पनि हुने गरेको छ । त्यतिमात्रै होइन, हाम्रो हिमाली देश नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको छ । खानेपानी, सिँचाइ र विद्युत उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुँदै आइरहेको छ ।

जलवायु परिवर्तनको असरले हिमनदीहरू पग्लिरहेका छन्, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ ।प्राकृतिक जोखिम कम गर्न र जलवायु परिवर्तनप्रति लचकता बढाउनको दृष्टिकोणले पनि पानी, ऊर्जा र खाद्यान्नको बढ्दो मागलाई सम्बोधन गर्ने गरी दिगो र एकीकृत दृष्टिकोण आवश्यक पर्दछ ।’

प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरूसँग एकीकृत गर्न जरुरी रहेको मन्त्री भुसालले बताउनुभयो। ‘यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यकता देखा परेको छ । भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठुलो योगदान गर्नेछ ।

बहुपक्षीय चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो । मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठुलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बहुपक्षीय चुनौतीहरूलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार