पोखरा । गत शनिबार समाजिक संजालहरूमा सडकको बीचमा एकजना मोटरसाइकल चालकले दुर्घटना पश्चात ट्रक चालकलाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भयो ।
सर्वसाधरणले त्यस्तो अमानवीय कार्यको तत्काल प्रतिवाद समेत गरेको भिडियोमा पनि देख्न सकिन्छ । तर पनि उनी कुटपिटमा उत्रिएको भिडियोमा देख्न सकिन्छ ।
सामाजिक संजालहरूमा पनि उक्त कार्यको बिरोध भएको थियो ।
सर्वसाधरणले मोटरसाइकल चालककलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका थिए ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.५ फिर्के पुलस्थित पोखरा बाग्लुङ सडक खण्डमा सो घटना भएको थियो ।
सवारी दुर्घटना पश्चात् मोटरसाइकल चालकले ट्रक चालकलाई कुटपिट गरेको भन्ने सूचनाको आधारमा प्रहरीले कारबाही अगाडि बढाएको छ ।
कास्की प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल चालक म्याग्दी घर भई हाल पोखरा १९ लामाचौर बस्ने वर्ष ४३ को मिन बहादुर मगरलाई नियन्त्रणमा लिइएको छ ।
उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। पोखरान्युजबाट