यसकारण फेरि दोहोरिन चाहन्छन् गाउँपालिका अध्यक्षमा श्रीप्रसाद रोका मगर

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले फेरि श्रीप्रसाद रोका मगरलाई उम्मेद्धार बनाएको छ । निवर्तमान अध्यक्ष युवा नेता रोका मगर आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी मैदानमा होमिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेद्धार बेगप्रसाद गर्बुजा र माओवादीका उम्मेद्धार कमलकुमार केसीलाई हराउँदै युवा नेता रोका मगर मालिका गाउँपालिकाको अध्यक्ष बन्नुभएको थियो ।

रोका मगर कांग्रेस महाधिवेशन प्रतिनिधि र नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष हुनुहुन्छ । युवा नेता रोका मगर फेरि एक कार्यकाल मालिका गाउँपालिकाको अध्यक्ष हुन चाहनुहुन्छ । आफ्नो नेतृत्वमा भएका उपलब्धीहरु संस्थागत गर्न ,आफुले सुरूआत गरेका कामहरू सम्पन्न गर्न थप समय लाग्ने भएकाले दोहोरिन चाहेको उहाँ बताउनुहुन्छ । ३१ वर्षिय रोका मगर जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ दुखुमा जन्मनुभएको हो ।

बुबाको निधन भएपछि १९ बर्षको उमेरमा गाउँमा बुबाले सम्हाल्दै आउनुभएको सामाजिक कामको नेतृत्वको जिम्मा उहाँले लिनुभयो । पोखरा स्थित पिएन क्याम्पसमा स्नातक पढ्दै गर्दा सामाजिक काममा सक्रिय हुँदा आफ्नो अध्ययन विचैमा रोकिन पुगेको उहाँको भनाई छ ।

विक्रम संवत २०६९ सालमा युवा नेता रोका मगरले नेपाल तरुणदलबाट राजनितिक यात्रा थाल्नुभएको थियो । ‘म राजनीतिमा लाग्दा समाजसेवा र संगठन निर्माण नै मेरो लक्ष्य थियो ,’उहाँले भन्नुभयो । चुनाव जितेर आए पनि सोचेका केही काम अधुरै रहेको उहाँ स्वीकार्नुहुन्छ । आफ्नो कार्यकालमा निति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन भएको अध्यक्षका उम्मेद्धार रोका मगर बताउनुहुन्छ । कार्यभार सम्हालेको सुरूको तीन वर्ष कर्मचारी, साधन र अनुभव लिनमै बितेको उहाँले बताउनुभयो । बाँकी २ वर्ष काम गर्न चाहेर पनि कोभिड–१९ को महामारीले बाधा पु¥याएको उहाँ बताउनुहुन्छ ।

पहिलो कार्यकालमो विकासका आधारभुत सुरक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, केन्द्रीय प्रसारण लाइनको विद्युतको पहुँच नपुगेका बस्तीमा स्थानीय उत्पादित लघुजलविद्युतको स्तरोन्नती तथा दुर्गम बस्तीमा सोलार वितरण लगायत सुविधा दिन सकिएको उहाँ बताउनुहुन्छ । गाउँपालिकामा भएका हरेक गतिविधिलाई पारदर्शी बनाउने ,सुशासन कायम गर्ने प्रयत्न गरेको गरेको उहाँको भनाई छ । गाउँपालिकाले अनियन्त्रित कुनै तरिकाले बजेट वितरण नगरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्र र कोभिड महामारीमा उत्कृष्ट व्यवस्थापन गरेको उहाँको भनाई छ । गाउँपालिका भित्र स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा रहेका दुर्गम बस्तीमा सामुदायीक स्वास्थ्य इकाई मार्फत गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा प्रदान गरिएको अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगर बताउनुहुन्छ । दरबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी थप सेवा विस्तार गरिएको छ । स्थास्थ्य चौकी स्थापना नभएका वडा नम्बर ३ सहित विभिन्न दुर्गम बस्तीमा १० वटा सामुदायीक स्वास्थ्य इकाईको भवन उहाँको कार्यकालमा बनेका छन् ।

वडा नम्बर ७ स्थित किसानी प्राविधिक शिक्षालयमा गाउँपालिकाले भौतिक पुर्वाधार निर्माण गरेको छ । किसानी प्राविधिक शिक्षालयमा अध्ययन गर्न आउने गाउँपालिका भित्रका विद्यार्थीलाई गाउँपालिकाले पचास प्रतिशत खर्च व्यहोर्दै आएको छ भने पालिका बाहिरबाट आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । गाउँपालिका भित्रका ९ वटै माविमा २,४,६,८,१० र २४ कोठे पक्की भवन बनेका छन् । त्यसैगरी ,सामुदायीक विद्यालयमा निजी स्रोतका शिक्षकलाई अनुदान प्रदान गर्दै आएको छ ।

जेष्ठ नागरिकलाई घरदैलोमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँनेदेखि दिर्घ रोगका विरामीलाई गाउँपालिकाले १५ हजार रुपैयाँ उपचार खर्च सहयोग गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्रका पर्यटकीय स्थलमा गाउँपालिकाले भौतिक संरचना निर्माण गरेको छ । मालिका धुरी, दुरलेक र सोलेडाँडामा पदमार्ग लगायत भौतिक पुर्वाधार निर्माण गरिएको निवर्तमान अध्यक्ष रोका मगरले बताउनुभयो ।
वडा नम्बर ५ को हकलाङ डाँडामा बौद्ध स्तुपा निर्माणको प्रक्रिया अघि बढेको छ भने दुरलेकमा शिवको मुर्ती स्थापना गर्ने गाउँपालिकाको योजना छ ।

गाउँपालिका भित्र दुई दर्जन भन्दा बढी झोलुङ्गृे पुल निर्माण भएका छन् । प्रत्येक वडामा सडक पुगेका छन् । आफ्नो कार्यकालमा एक घर एक धारा कार्यक्रम मार्फत गाउँपालिका भित्र खानेपानी विस्तार गरिएको बताउनुभयो ।गाउँपालिकाको वडा नम्बर ४ स्थित ओखरबोटमा रहेको तामाखानी उत्खननको प्रक्रिया अघि बढेको छ । भने स्लेट ढुंगा खानी बैधानिक बनाउने प्रक्रिया अघि बढाइएको अध्यक्षका उम्मेद्धार रोका मगरले बताउनुभयो । अपाङ्ग नागरिकलाई सिपमुलक तालिम र ज्यष्ठ नागरिकलाई स्वास्थ्य विमा । दरबाङ बजार संरक्षण योजना संचालन , कृषि तर्फ पकेट क्षेत्र घोषणा गरी अनुदान र कृषि औजार सामग्री वितरण गरिएको छ ।

गाउँपालिका केन्द्र दरबाङ स्थित छ्यारछ्यारेमा बहुद्धेश्यीय सभा हल भवन ,सबै वडामा आमा समुह ,क्लब र समाज भवन बनेका छन् । यस अघि आएको बर्षात संगै बाढीपहिरोबाट विस्थापित बिम लगायत विभिन्न वस्तीका १७३ पीडित परिवारलाई प्रवासी म्याग्दीलीहरुसंगको सहकार्यमा आवास निर्माण गरिएको छ । उहाँको कार्यकालमा गाउँपालिका भित्र महिलाहरु, युवाहरुलाई उद्यम, रोजगारसँग जोड्नको लागि सिप, तालिमका कार्यक्रम संचालन गरिएको छ । उत्पादनसँग जोडिएका आयआर्जनसँग जोडिएका श्रोत साधनहरुको पहिचान गरेर कम्तिमा पनि ठूलो आम्दानीको श्रोतसँग जोडेर यहाँका नागरिकहरुलाई त्यो खालको कार्यक्रमहरु पनि सुरुवात भएको उहाँको भनाई छ ।

पहिलो कार्यकालमा समग्र रुपमा मालिकामा सबै विकासका आधारभुत कुराहरु पुरा गर्नको लागि प्रयत्नशिल भएँ । कृषि,जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा अझै धेरै काम गर्नु छ ,त्यसैले अधुरा रहेका योजना पुरा गर्न, गाउँपालिकालाई समृद्ध बनाउन मैले उम्मेदवारी दिएको हुँ ,’उहाँले भन्नुभयो ।अध्यक्षका उम्मेद्धार रोका मगरले थप्नुभयो ,‘आगमी कार्यकालमा गाउँपालिकाबासीको थप समस्या र आवश्यकता बुझ्ने ,दिगो विकास र समृद्ध मालिका गाउँपालिका बनाउनको लागि पनि मलाई नै मतदान गर्नुहुन्छ भन्ने पुर्ण विश्वास लिएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार