चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी हुन् । ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

निर्वाचनमा खटिएको बेला नै प्रहरी बरिष्ठ हबल्दार भोजराज पराजुलीको पनि दुर्घटनामा परेर मृत्यु भएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।

यसैबीच निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट ९ जना, वाग्मती, गण्डकी र कर्णालीबाट ८र८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गरिएको हो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार