काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादी खुम्चिन पुग्यो : चौधरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताउनुभएको छ । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेपनि त्यसको वेवास्ता गरिएको उहाँको भनाइ छ ।

आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएपनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेको चौधरीको गुनासो छ । नेता चौधरीले भन्नुभयो, ‘ राजनीतिमा अनुशासन देखिएन । पाँच दलीय गठबन्धनबाटै एकता गर्ने, मोर्चा बनाउने भन्ने कुरा थियो । तर माओवादीका र काँग्रेसका साथीहरू नै कतिपय ठाउँमा एमालेसँग मिलिदिनु भयो ।

आचरण र अनुशासनका कुरालाई भुलेर, आफ्नो साइज बढाउने होडमा अरु पार्टीसँग मिल्नु भयो।’ चौधरीले थप्नुभयो, ‘सुतिसकेको काँग्रेसलाई जवरजस्ती प्रधानमन्त्री बनाइयो, यसअर्थमा नेकपा एकीकृत समाजवादीमाथि दलहरू बढी उदार देखिनुपर्ने हो, त्यो देखिएन । उल्टै हाम्रो पार्टीलाई कसरी एकदमै डाउन गर्ने मनोविज्ञानका साथ साथीहरू अघि बढ्नुभयो ।

सँगै चुनाव लड्दा आफू जित्ने र अर्कोलाई हराउने यो बेठीक कुरा हो । काँग्रेसका साथीहरूले अलि बढी हार्दिकता,उदारता देखाउन सक्नुभएन।’यस्तै नेता चौधरीले बाम एकता र त्यसमा पनि एमालेसँगको एकता र तालमेलका बारेमा पनि आफ्नो धारणा राखेका छन् । उहाँले भन्नुभयो, ‘राजनीतिमा सबै सम्भावना कायमै रहन्छन् ।

तर, म ग्यारेन्टीका साथ भन्छु, नेकपा एमाले र हाम्रो बीचमा संघको निर्वाचनअघि एकता हुँदैन । अर्को कुरा जसरी नेकपा एमालेले जनतामाथि, संविधान र कानुनमाथि घात गरेको छ, त्यसको सकारात्मक ढंगबाट कहिल्यै पनि प्रमाणित गर्न सकिँदैन।’नेकपा एमालेलाई साइजमा ल्याउने भन्दै निर्वाचन अघिसम्म चुनावी सभामा भाषण गर्दै हिँड्ने चौधरीले सो पार्टी अझै साइजमा आइनसकेको बताउनुभयो ।

उहाँले एमाले साइजमा आउने समय आउन बाँकी नै रहेको पनि दावी गर्नुभयो । ‘अझै पनि एमालेलाई अझै सजाय पुगेकै छैन, एमाले दण्डित त्यो बेला हुन्छ, जुन बेला संघको निर्वाचन पछिको परिणाम आउनेछ । किनकी एमालेले संसदीय व्यवस्थामाथि तरबार झुण्ड्याएको हो र संसदीय निर्वाचनमै एमालेले दण्ड भोग्नुपर्छु, उहाँले भन्नुभयो। कुराकानीका क्रममा नेता चौधरीले आफ्नो पार्टीको मतबाट माओवादी र काँग्रेसले ठुलो उपलब्धि हासिल गरेको भन्दै यसबारेमा गम्भीर छलफल र समीक्षाबाट पार्टी अघि बढ्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार